नेकपा एमालेका नेता एवम् पुर्वमन्त्री योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्सले समाजमा आतंकको आभाष गराएको टिप्पणी गरेका छन्।
शुक्रबार अबेर राती आफ्नो आधिकारीक फेसबुक पेजमार्फत उनले यस्तो टिप्पणी गरेका हुन्। नेता भट्टराईले यस्ता किसिमका ‘फोर्स’का कारण युवा संघ र अनेरास्ववियू ओझेलमा परेको बताएका छन्।
‘अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स, अखिल फोर्सको औचित्य के छ?’ उनले लेखेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ।’
नेता भट्टराईले अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर बनाउनुपर्ने बताए। ‘के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने?’ उनी प्रश्न गर्छन्।
उनले यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष अनुरोध पनि गरेका छन्।