नेपाल पर्यटन बोर्डका सीइओ धनन्जय रेग्मीले ६ बोतल रक्सी नछुटाएको भन्दै विमानस्थल भन्सारका नायव सुब्बा सुमन थापालाई कुटे ।
भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन जाँच कक्षमा भन्सार जाँचपासमा खटिएका सुब्बा थापालाई कुटे । ब्यागेजमा ६ बोतल े रक्सी ल्याएका रेग्मीले रक्सी नछुटाएको भन्दै भन्सारका कर्मचारी कुटेका थिए ।
त्यसपछि रेग्मीलाई भन्सार अधिकृतले नियन्त्रणमा लिएका थिए । उनलाई भन्सार ऐन अनुसार पाँच हजार जरिवाना गरिएको छ । ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ ।
सो क्रममा स्वास्थ्य जाँच गर्दा रेग्मीले मदिरा सेवन गरेको पुष्टि भएको थियो ।
उनले अहिले उक्त दिन गल्ती भएको स्वीकार गरेका छन् । घटना बाहिरिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सीईओ रेग्मीलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । सीईओ रेग्मीले बुझाएको स्पष्टीकरणमा अनिँदोका कारण धकेलाधकेल भएको भन्दै माफी पनि मागेको उल्लेख गरिएको छ ।
स्पष्टीकरणमा भनिएको छ, ‘विमानस्थलमा अवतरण भएलगत्तै आफ्नो बाटो आउँदा विदेशी पर्यटकमाथि अनावश्यक सोधपुछ गर्दै दुःख दिने काम गरेको विषयमा सोधखोज गर्दै थिएँ । उहाँहरुले मलाई उल्टै अनावश्यक सोधखोज गर्न थाले । रातभरी अनिँदो थिएँ । आउँदा अलिकति धकेलाधकेल मात्र भएको थियो । यस कारणले कसैलाई केही दुःख भएकोमा म क्षमाप्रार्थी छु । ’
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्पष्टीकरण आइपुगेको र यस विषयमा मन्त्री प्रेम आलेसँग छलफलपछि कारवाही अगाडि बढाइने बताए ।
रेग्मीलाई केपी ओली सरकारको पालामा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका थिए ।