प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’ अन्तर्गत साइकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा साइकल खरिदमा भ्रष्टाचार भएको देखिएको यथेष्ट प्रमाणहरु फेला परेको जानकारी दिए ।
जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको उनले बताए । साथै उनले दोस्रो चरणको अनुसन्धान सुरु भएको पनि जानकारी दिए ।
त्यसमा पनि भ्रष्टाचार देखियो भने साइकल खरिदमा संलग्न पदाधिकारी उपर भ्रष्टाचारविरुद्ध विषेश अदालतमा मुद्दा दायर हुने उनले बताए ।
उनले विस्तृत अनुसन्धान हुन एक डेढ महिना लाग्ने बताए । सापकोटाले साइकल खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परीक्षण गर्ने काम भइरहेको र यसमा अनियमितता देखिए कारबाही प्रक्रिया अगाडि बढाइने बताए । विस्तृत अध्ययनको लागि केन्द्रीय टोलीले अनुसन्धान थालेको छ ।
गत असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास तथा केन्द्रका संयुक्त टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएको थियो ।
अख्तियारको सो कदमको प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो भने प्रमुख सत्तारुढ जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध विरोध प्रदर्शनसहितको आन्दोलन गरेका थिए ।
प्रदेश नंं २ को सरकारले प्रदेश भरिका सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत रहेका छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ ।