नेकपा एमाले उपाध्यक्ष डा.भीम रावलले आइतबार १०औं महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने घोषणा गरे ।
उनले रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षका लागि उम्मेद्वारी दिने घोषणा गरे ।
उनले पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन गर्दै उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका थिए । त्यसका लागि कोठाको व्यवस्था गरिदिन उनले महासचिव ईश्वर पोखरेललाई आग्रह गरे । तर, पोखरेलले रावलको आग्रहलाई सिधै नकारिदिए र भने, ‘पार्टी केन्द्रीय कार्यालयमा कोठा खाली छैन ।’
रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनका रावलले सो कुरा खुलाए । पार्टीको केन्द्रीय कार्यालयका सबै कक्षहरु व्यस्त रहेकाले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्नु परेको उनले बताए ।
रावलले भनेका थिए, ‘पार्टी केन्द्रीय कार्यालय थापाथलीबाटै घोषणा गर्न लागेको थिएँ, तर महासचिवबाट महाधिवेशनको व्यस्तताले गर्दा त्यहाँ भएका सबै कक्षहरु खाली छैनन् भन्ने जानकारी प्राप्त भएपछि यो महत्वपूर्ण विषयको घोषणा रिपोर्टस क्लवबाट गर्नुपरेको हो ।’
रावल एमालेमा विद्रोही नेता हुन् । यसअघि नेकपा हुँदा उनी तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक थिए । तर, माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गर्दा रावल १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए ।
तर, १० बुँदे कार्यान्यवन कार्यान्वयन नभएको भन्दै उनी असन्तुष्ट छन् ।
पार्टी अध्यक्ष ओली सर्वसम्मत अध्यक्ष हुन चाहिरहेका छन् । रावलले अध्यक्षमा उम्मेद्वारी दिँदा ओलीले सर्वसम्मत अध्यक्ष हुने चाहनामा धक्का लागेको छ ।
त्यसकारण ओलीलगायत उनीपक्षीय नेताहरु रावलदेखि असन्तुष्ट छन् । त्यसकारण रावललाई उम्मेद्वारी घोषणा गर्दा केन्द्रीय कार्यालयमा कोठा नदिएको एमाले स्रोतको दाबी छ ।