ओरियन्टल सहकारी (ओरिएन्टल कोअपरेटिभ लिमिटेड) का सञ्चालक सुधीर बस्नेतबाट ठगिएका पीडितहरूले अझैं न्याय पाउन सकेका छैनन् ।
उक्त सहकारीका सञ्चालक बस्नेतले वि.सं. २०६९ मा ८ हजार बचतकर्ताको ५ अर्ब ठगी गरेका थिए । सहकारीमा बचतकर्ताले जम्मा गरेको सम्पत्ति सञ्चालन बस्नेतले अन्यत्र लगानी गरेका थिए, उक्त लगानी डुबेको थियो ।
आफ्नो ठगिएको आफ्नो रकम फिर्ता गराउन पीडितहरू ओरियन्टल पीडित समूह स्थापना गरेरै ९ वर्षदेखि लागिरेहका छन् । तर, सरकार, अदालतलगायतका कारण उनीहरूले न्याय पाउन सकेका छैनन् ।
ओरियन्टल सहकारीका सञ्चालक बस्नेत खुलेआम हिँडिरहँदा पीडित भने आफ्नो डुबेको पैसा फिर्ता गराउन अनेकौं प्रयास गरिरहेका छन् । तर, सरकार र अदालत उनीहरूको समस्यालाई गम्भीर रुपमा नलिँदा उनीहरू खिन्न छन् ।
उक्त सहकारीमा भएको ठगी घटनापछि सरकारले समस्याग्रस्त सहकारी समिति गरेको थियो । उक्त समितिले घटनाको छानविन गरी बचतकर्ताको रकम फिर्ता गराउने भनिएको थियो । तर, समितिा चार जना अध्यक्षले तलब भत्ता खानेबाहेक पीडितका लागि केही काम गर्न नसकेको ओरियन्टल पीडित समूहका सदस्य मधुसुधन प्याकुरेलले गुनासो गरे ।
उनी भन्छन्, ‘हामीलाई न्याय दिन सरकारले वास्ता गरेन, अदालतले न्याय दिएन ।’
उनले अब सञ्चालक समितिमा रहेकालाई पनि पक्राउ गर्नुपर्ने माग गरे । उनले भने, ‘१३÷१४ जिल्लामा उक्त सहकारीले शाखा खोलेको थियो । अब सञ्चालक समितिमा रहेका व्यवस्थापन ठाकुर पराजुली, लेखापाल देवराज भुर्तेललगायतलाई पक्राउ गनुपर्छ ।’
ओरियन्टल पीडित समूहका अनुसार सहकारीले ठगी गर्दा करोडका मालिका रोडमा आउन बाध्य छन् । कतिपयसँग सामान्य उपचार गर्न पनि पैसा अभाव छ । सामान्य आम्दानीदेखि बृत्तभत्ता, सञ्चयकोषको रकम समेत ब्याजको आशमा सहकारीमा राखेका धेरैले ठगीएपछि बाच्ने आधार नहुँदा ज्यान गुमाइसकेका छन् ।
पीडितहरूले मुद्दा मामिलादेखि राष्ट्रपति, प्रधानमन्त्रीलाई धेरै पटक भेटिसकेका छन् । सबैजसो सरकारी कार्यालयमा धर्ना दिए । तर, उनीहरूले सबैबाट आश्वासन पाए, कसैबाट न्याय पाएनन् ।
सर्वोच्च अदालतले पनि सहकारीका सञ्चालन बस्नेतले नै पैसा फिर्ता गर्न आदेश दिएको थियो । तर, बस्नेतले पीडितको एक पैसा पनि फिर्ता गरेका छैनन् । प्रहरीले पनि पक्राउ गर्ने÷छाड्ने गरेको छ ।
ठगीएको पैसा फिर्ता पाउनुपर्ने मात्रै माग पीडितहरूको हो । तर, सरकारले नै सहकारी कानून कार्यान्वयन नगरेर ठगी गरेका सहकारी सञ्चालन बस्नेतलाई संरक्षण गरेको आरोप पीडितहरूको छ ।