नेपाली कांग्रेस सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालाले शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
देउवालाई सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र डा. कल्याण गुरुङले सहयोग गर्ने निर्णय गरिसकेका छन् । यस्तो अवस्थामा देउवाको जित सुनिश्चित हुनेछ ।
तर, कोइराला पक्षको बैठकले दोस्रो चरणको मतदानमा देउवासँग प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पनि कोइरालाले प्रतिनिधिले अन्तरआत्माले आफूलाई भोट दिने दाबी गरे । साथै उनले जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार गर्ने बताए ।
कोइरालाले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताए ।
‘महाधिवेशन प्रतिनिधि आफैँ नेता हो । उहाँहरुले जुन मतदान गर्दै हुनुहुन्छ । अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् । कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । त्यसलाई व्यवस्थित बनाउनेछु’ उनले भने, ‘आजसम्म रुपान्तरण र पुनर्जागरण गरेर आइरहेको छु । त्यसलाई तार्किक निष्कर्षमा पुर्याउने प्रयास गरिरहेको छु । हामी मिलेर काम गर्छौँ भन्ने कुरा राख्न चाहन्छु ।’
दोस्रो चरणको चुनाव
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार दिउँसो साढे ३ बजेदेखि दोस्रो चरणमा मतदान हुँदैछ । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका थिए । सभापतिका अर्का उम्मेदवार कोइरालाले १७२३, सिंहले ३६०, निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका थिए ।
अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।