नेपाल क्रिकेट संघ (क्यान) को क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गर्दै पदमुक्त गर्नुका साथै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गर्यो ।
साथै, अनुशासन उल्लंघन आरोपमा मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय गर्यो ।
जसको खेलाडी, समर्थन र क्यानकै केही बोर्ड सदस्यले विरोध जनाउँदै आएका छन् । अहिले क्रिकेटमा देखिएको विवाद राष्ट्रिय चासो विषय बनेको छ ।
क्रिकेट विवादबारे राजनीतिज्ञ, कलाकारदेखि सर्वसाधारणले समेत चासो लिएका छन् । जसका कारण क्रिकेट खेलाडीहरुमाथिको कारवाही फिर्ता लिन चौतर्फी दवाव छ ।
प्रचण्डको चासो, देउवाको निर्देशन
नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कार्बाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबार ध्यानाकर्षण गराए । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कार्बाहीबारे देउवाको ध्यानाकर्षण गराएका थिए ।
त्यसलगत्तै प्रधानमन्त्री देउवाले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग खेलाडीलाई गरिएको कार्वाहीबारे टेलिफोन मार्फत जानकारी लिएको र मिलाएर अघि बढ्न निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ ।
देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘क्यानमा के गरेको हो, प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाएर अघि बढ्नुस है ।’
क्यानमाथि खनिए खेलकुद मन्त्री
त्यसलगत्तै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्यानका पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा पुनः विचार गर्न निर्देशन दिए ।
क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई संरक्षण गर्नुपर्ने बताए ।
प्रचण्ड, खेलकुदमन्त्री मात्रै हैन, अन्य युवा तथा विद्यार्थी नेताले पनि खेलाडीमाथि गरिएको कारवाही हुनुपर्ने माग गर्दै आएका छन् ।
कलाकारको समर्थन खेलाडीलाई
गायक प्रमोद खरेल, दयाहाङ राईलगायतका कलाकारलाई पनि खेलाडीमाथि गरिएको कारवाही चित्त बुझेको छैन । उनीहरूले पनि खेलाडीमाथि गरिएको कारवाही फिर्ता गर्नुपर्ने माग अघि सारेका छन् ।
खरेलले भनेका छन्, ‘क्रिकेट बिबाद टुंगाउ, खेलाडीलाइ प्रोत्साहन गर महत्वपूर्ण प्रतियोगिता आउदैछन् । एक ढिक्का भएर अघि बढौं अनि एक ढिक्का भएर खेलौं अनि खेल्ने वातावरण बनाउँ । प्रतिशोध र आवेग भन्दा देश ठूलो हो ।’
राईले भनेका छन्, ‘मलाई त चित्त बुझेको छैन भने खेलाडीहरूलाई झन कसरी चित्त बुझ्ला ? मेरो समर्थन जहिले खेलाडीहरूलाई !’
सन्दीप मौन, अधिकांशको समर्थन
क्यानको निर्णयविरुद्ध नयाँ कप्तान तोकिएका लाछिमानेबाहेकका अधिकांश खेलाडी उत्रिएका छन् ।
बोर्डको निर्देशनलाई अवज्ञा गर्दै सामाजिक सञ्जालमा केही खेलाडीले सार्वजनिकरुपमै निर्णय नमान्ने जनाइसकेका छन् ।
क्यान बोर्ड बैठकको निर्णयका तलपट्टी ‘आइएम डन टू’ (मलाई पनि पुग्यो) लेख्दै खेलाडीले विरोध गरेका छन् । करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा, रोहित पौडेललगायत खेलाडीले सामाजिक सञ्जालमा लेख्दै विरोध जनाएका हुन् ।
बिहीबार कारवाही गरिएका चार जनाले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति अधिकांश खेलाडीले सेयर गरेका छन् ।
दबाबमा क्यान, फिर्ता लिने तयारी
सर्वत्र चासोपछि क्यान दबाबमा परेको छ । क्यान स्रोतका अनुसार प्रधानमन्त्रीदेखि खेलकुदमन्त्रीले दबाब थेग्न क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई मुस्किल परेको छ ।
कारवाहीपछि आफ्नो निर्णयको समर्थनमा मिडियोमा अभिव्यक्ति दिँदै आएका चन्दसहित क्यान पदाधिकारी शुक्रबारदेखि चुप बसेका छन् । क्यान स्रोत भन्छ, ‘सबैतिर क्यान निर्णयको विरोध भइरहेको छ । राजनीतिक दबाब त थेगिनसक्नुछ । त्यसकारण पनि निर्णय फिर्ता लिने तयारी भइरहेको छ ।’
निर्णय फिर्ता लिने प्रक्रियाबारे क्यान पदाधिकारीले छलफल अघि बढाएका छन् । सम्भवतः आफूले गरेको निर्णयको बचाउ गर्ने उपायको खोजीमा लागेका क्यान पदाधिकारी अहिलेको विवादलाई सेफ ल्याण्डिङ गराउन चाहन्छन् ।
क्यानले खेलाडीमाथि गरिएको निर्णय अपलोड गरिएको पोष्टमा धेरैले असुन्तुष्टि जनाएका छन् र निर्णय फिर्ता दिन दबाब दिएका छन् ।
उक्त पोष्टमा ५३ सय जनाले लाइक गरेका छन्, जसमा ३१ सय जनाले एङ्ग्री (रिसाएको) रियाक्ट गरेका छन् ।
सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदैछ । त्यसको ग्लोबल छनोट फेब्रुअरीमा २०२२ अर्थात झण्डै साढे २ महिनापछि ओमानमा हुँदैछ ।
योलगायतका महत्वपूर्ण प्रतियोगिता आइरहेको र खेलाडीहरूले पनि सार्वजनिक रुपमा कारवाही र खेलाडीको वर्गीकरणमा पुनः विचार गर्न आग्रह गरेको अवस्थामा क्यानमाथि निर्णय पुनः विचार गर्न थप दबाब बढेको छ ।