काठमाडौं —नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि पाँच जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
सोमबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले पाँच उम्मेदवारको नाम टुङ्गो लगाएको नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा शाह) लाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
यसअघि कांग्रेस र माओवादीले उम्मेदवार तय गरिसकेका छन् ।
सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने सहमति गरेको थियो ।
जसअनुसार जसपाबाट महाजन यादव तथा नवराज सुवेदीले टिकट पाउने बताइएको छ ।