काठमाडौं उपत्यकाका सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटेको छ ।
शुक्रबार काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको जुन शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ ।
तर, निजी यातायातको हकमा भने उक्त निर्णय लाू नहुने उनले स्पष्ट पारे । यसबाहेक अरू आदेश यसअघिकै यथावत रहनेछन् ।
शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले पनि सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो ।
उक्त बैठकले विद्यालय, रात्रीकालिन व्यवसाय र फिल्म हल माघ मसान्तसम्म बन्द नै राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।