एमसीसी संसदमा पेश गर्ने निर्णयको सत्तारुढ दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विरोध जनाएका हुन् ।
आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज दिउँसो १ बजे संसद बैठकमा एमसीसी पेश गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रतामाथि गम्भीर चुनौती र संकट उत्पन्न भएको बताएका छन् ।
उनले सम्पुर्ण देशभक्त शक्तिहरु एकजुट हुनुपर्ने र राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको रक्षा गर्न आग्रह गरेका छन् ।
अमेरिकी राजदूतले एमसीसी पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेको खुलाएका छन् ।
उनले लेखेका छन्ः
हाम्रा पुर्खाहरुले संसारमा साम्राज्यवाद र उपनिवेशवादको जगजगी भएको र हाम्रा सबैजसो छिमेकीहरु उपनिवेश बनेको अवस्थामा पनि हाम्रो भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्नुभयो । त्यसैले आज हामी कहिले कसैको प्रत्यक्ष उपनिवेश नबनेको सार्वभौमसत्तासम्पन्न मुलुकको जनता हुन पाएकोमा गौरवान्वित अवस्थामा छौं । तर हाम्रो राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता माथि यतिबेला गम्भीर चुनौति र संकट उत्पन्न भएको छ । सम्पुर्ण देशभक्त शक्तिहरु एक्जुट होऔं र राष्ट्रिय सार्भौमिकता, स्वाधीनता र हितको रक्षा गरौं ।