आज दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे छलफल हुँदैछ ।
उक्त बैठकअघि एमसीसीको विरोधमा प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको युपा तथा विद्यार्थी संगठनका साथै राप्रपालगातका दलले एमसीसीको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।
जसका कारण उक्त क्षेत्रको यातायात अवरुद्व भएको छ । त्यसको असर काठमाडौं उपत्यकामा परेको छ ।
विरोध प्रदर्शनलाई लिएर संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ भने संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ । प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो ।
एमसीसीका बारेमा साझा धारणा बनाउन सत्ता साझेदार दलहरुबीच प्रयास भइरहेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले एमसिसीबारे औपचारिक धारणा बनाएको छैन ।
यस्तै सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।