पछिल्लो समय नेपाली चलचित्र स्तरीय आउन थालेका छन् । त्यसको मुख्य कारण लगानीलाई पनि मानिन्छ ।
पछिल्लो समयमा नयाँ जोश र जागरमा साथ युवा व्यवसायी चलचित्र निर्माणमा जुटेका छन्, जसको पछिल्लो उदाहरण हो– चलचित्र लप्पन छप्पन २ । उक्त फिल्मका निर्माता अधिकांश युवा व्यवसायी छन् ।
युवा व्यवसायीको लगानीका कारण फिल्म पनि उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ ।
लप्पन छप्पन २ का निर्मातामध्येका एक हुन्, सुदीपचन्द्र बख्रेल । चलचित्र लप्पन छप्पन २ का निर्माता रहेका युवा व्यवसायी बख्रेल पनि चलचित्र क्षेत्रमा होमिएका छन् । नयाँ जोश र जागरका साथ आफू चलचित्र क्षेत्रमा होमिएको उनले बताए ।
फागुन २० गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र लप्पन छप्पन २ को प्रचार प्रसारको लागि आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त फिल्मका निर्माता बख्रेलले फिल्म पछाडि भएमा देश पनि पछाडि हुने भन्दै युवाहरु चलचित्र क्षेत्रमा लाग्नुपर्ने बताए ।
उनले हलिउड चलचित्रमा प्रयोग गरिने लेभलको प्रविधि प्रयोग गरेर आफूले १० वटा फिल्म बनाउने घोषणा गरे ।
बख्रेलले भने, ‘नेपाली चलचित्र क्षेत्रमा नयाँ जोश र जाँगरका साथ केही नयाँ गर्नुपर्ने उद्धेश्यका साथ १० वटा फिल्म बनाउने यहाँहरुसमक्ष जानकारी गराउँदछु ।’
चलचित्र सन्देशमुलक तथा देश विकासमा सहयोग पुग्नुपर्ने खालको हुनुपर्ने बख्रेलको बुझाइ छ । उनी भन्छन्, ‘देशको विकाशका लागि पनि नयाँ नयाँ चलचित्र बन्न जरुरी छ ।’
बख्रेल नेपाली फिल्म पनि अन्तर्राष्ट्रिय स्तरको हुन सक्ने र अन्य भाषामा बन्नुपर्नेमा जोड दिन्छन् । उनी अगाडि थप्छन्, ‘फिल्ममा समाजलाई ऐनाको रुपमा देखाउन जरुरी छ । नेपाली फिल्म पनि अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ । अन्य भाषामा बन्नुपर्छ अनि विश्व बजारमा छाउँछ । युवा सोच, जोस र जागर नेपाली फिल्म क्षेत्रमा भित्रिएको छ ।’