बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न काठमाडौंबाट गाउँ जानेहरुको क्रम दैनिकरुपमा बढ्दो रहेको छ। एक हप्तायता ५ लाख जनाले काठमाडौँ छाडेका छन् । आज पनि काठमाडौँको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ।
भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाडौँ उपत्यका छोडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो ।
गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए ।यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिए ।
गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए ।आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
उनका अनुसार आज नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको सङ्ख्या धेरै छ ।यसैबीच, भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकामा गाडीको सङ्ख्या केही कम भएको छ ।
राजनीतिक दल तथा उम्मेदवारहरुले मतदाता ओसारपसार गर्नका लागि सार्वजनिक गाडी रिजर्भमा लैजान थालेकाले काठमाडौँमा गाडीको सङ्ख्या केही घटेको हो ।काठमाडौँमा २० देखि २५ प्रतिशतले गाडीको सङ्ख्या घटेको सिटौलाले जानकारी दिए ।