सभामुख अग्निप्रसाद सापकोटाले किशोरी बलात्कार प्रकरणको छानविन गर्न सरकारलाई रुलिङ गरेका छन्।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले किशोरी बलात्कार प्रकरणको छानविन गर्न सरकारलाई रुलिङ गरेका हुन्।
त्यसअघि बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले घटनाको तत्कालै अनुसन्धान गर्न माग गरेका थिए। सागै उनले बलात्कारसम्बन्धी कानून, फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन पनि माग गरेका थिए।
उनले भनेका थिए, ‘हिजो घर फर्कंदै गर्दा श्रीमती र दुईजना ससाना छोरीहरु सामाजिक संजालमा आएको एक नौजवान युवतीको भिडियो जसमा आठ वर्षअघि आफुलाई बलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन्, त्यो हेरिरहेको उसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु। सम्माननिय सभामुखमार्फत यत्रो विषय सार्वजनिक भइसके पछाडि तत्कालै अनुसन्धानको दायरामा ल्याउनका निम्ति हार्दिक आग्रह चाहन्छु। साथै यसै संसदबाट बनाएको बलात्कारसम्बन्धी कानून, हाम्रो फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन पनि माग गर्दछु।’
लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।
सरकारलाई निर्देशन दिंदै सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाइ राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु।’
बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन्।
यस सम्बन्धि थप सामाग्रीः
बलात्कार प्रकरणमा नाम मुछिएपछि तनावमा माल्भिकास् गाली ओइरो लागेपछि मागिन् माफी, हटाइन् इन्ष्टाको फोटो
बलात्कार आरोपी मोडेल ग्लोबलका सञ्चालक पाण्डे भन्छन्– ३/४ दिनमा सबै कुराको खुलासा गर्छु
बलात्कृत भएकी युवतीको न्याय माग्दै वालुवाटारमा धर्ना