नेकपा एमालेका उम्मेदवार केशव स्थापितले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साह र उपमेयर सुनिता डंगोललाई बधाई दिएका छन्।
पराजितपछि उनले धन्यवाद वक्तव्य जारी गर्दै काठमाडौंका मेयर साह र उपमेयर डंगोललाई बधाई दिएका हुन्।
उनले लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको बताएका छन्। जनताको सेवक भएर काम गर्ने आफ्नो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेको उनले उल्लेख गरेका छन्।
काठमाडौं महानगरवासीले देखाएको भरोसाको बालेनले सम्मान गर्ने अपेक्षा उनले गरेका छन्। केही कमजोरी भए भने निरन्तर खबरदारी गरिरहने पनि उनले बताएका छन्।
स्थापितले जारी गरेको धन्यवाद वक्तव्यः
म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु। काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ।
जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन। यद्यपि यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकाङ्क्षा अलिकति पनि धरमराएको छैन। निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु। काठमाडौँ महानगरवासीले तपाईँमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईँले सम्मान गर्नु हुनेछ भन्ने मैले अपेक्षा लिएका छु। तपाईंले गरेका हरेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु।
लोकप्रिय मतसहित उपमेयर पदमा विजयी हुनुहुने सुनिता डंगोललाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईं आशा बोकेको युवा हो, तपाईंले आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्नुहुने छ भन्ने विश्वाससहित शुभकामना व्यक्त गर्न चाहन्छु।