काठमाडौं। पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको स्थानीयले बताएका छन्।
हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताए।
उनले भने, ‘हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो। हल्का कुहिरो लागेर पानी परिरहेको थियो। उनलेयसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताए।
‘घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ’, उनले भने, ‘केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ। सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ। तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उनले बताए।
उनले भने, ‘त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन। आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला।’
आइतबार बिहानदेसखि सम्पर्कबिहीन रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका–३ लार्जुङको खोंचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले पुष्टि गरे।
उनले मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको र मौसम खराबीका कारण हेलिकप्टर जान नसकेपछि अहिले सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा जाँदै गरेको बताए।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पनि जहाज दुर्घटना भएको भन्ने लोकेट गरिएको र आधिकारि पुष्टी गर्न घटनास्थल पुग्नुपर्ने बताए।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कबिहिन भएको थियो। जसमा १३ नेपाली, ४ भारतीय, २ जना जर्मनी नागरिक र चालक दलमा ३ सदस्य गरी २२ जना सवार थिए। विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेकोजहाज केही समयपछि सम्पर्कबिहीन भएको थियो।