तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ।
मंगलबार दिउँसो मुस्ताङको कोवाङ्गबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप १२ जनाको शव ल्याइएको हो। यसअघि सोमबार साँझ १० जनाको शव काठमाडौं ल्याइएको थियो।
शवलाई पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ। पोष्टमर्टमपछि शव आफन्तको जिम्मा लगाइनेछ।
आइतबार बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एईटी ट्विनअटर जहाज सम्पर्कबिहिन भएको थियो। उक्त जहाज सोमबार बिहान मुस्ताङको थसाङ गाउँपालिका २ को सानोस्वारे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
दुर्घटनामा परी जहाजमा सबै २२ जनाकै मृत्यु भएको थियो।