काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरले शनिबार सूचना अधिकारी तोकेको छ। नेपाली पब्लिकले राष्ट्रिय ट्रमा सेन्टरमा जाँदा ‘सूचना लिन सकस’ भएको समाचार प्रकाशन गरेपछि सेन्टरले सूचना अधिकारी तोकेको हो।
दुई हप्ताको ताकेतामा पनि सूचना नपाएपछि मेसु डाक्टर प्रमोदकुमार यादवसहितको टोलीसँग नेपाली पब्लिकले सूचना माग गरेको थियो। गएको बुधबार पुनः सूचना लिन जाँदा पूरा सूचना फेरि नपाएपछि ट्रमा सेन्टरमा आधिकारिक सूचना अधिकारी नै नतोकिएको जानकारी प्राप्त भएको थियो। ट्रमाका कर्मचारीहरुले पनि आधिकारिक सूचना अधिकारी नभएको जानकारी दिएका थिए।
ट्रमा सेन्टरले शनिबार भने अर्जुनप्रसाद भेटवाललाई आधिकारिक रुपमा सूचना अधिकारी नियुक्त गरेको छ। त्यसभन्दा अघि मेसु यादवले नेपाली पब्लिकको टोलीलाई मौखिक रुपमा सूचना अधिकारी तोकिइएको जानकारी दिएका थिए। कार्यालयमा भने सूचना अधिकारी भएको जानकारी समेत दिइएको थिएन।
ट्रमा सेन्टरको कार्यालयमा अझै नागरिक वडापत्र राखिएको छैन। मेसु यादवकाअनुसार नागरिक वडापत्रमा केही फेरबदल गर्नुपर्ने भएकाले नागरिक वडापत्र राख्ने तयारी भैरहेको छ।