काठमाडौँ – शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई आइतबारदेखि वैदेशिक अध्यययन अनुमति पत्र अर्थात ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिन शुरू गरेको छ।
मन्त्रालयले जेठ २९ गते सूचना जारी गर्दै १२ कक्षा पास नगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी दिन बन्द गरेको थियो। त्यसअघि भने एसएलसी वा एसईई पास गरेकाले समेत एनओसी लिन पाउँथे।
उक्त निर्णयका विरुद्ध रामदत्त आोझाले असार ४ गते मुद्दा हालेका थिए। असार ५ गते उक्त मुद्दाको सुनुवाई गर्दै अदालतले अर्को आदेश नहुँदासम्मका लागि शिक्षा मन्त्रालयलाई जेठ २९ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि दुबै पक्षलाई अदालतले ८ गते छलफलका लागि बोलाएपछि पर्याप्त छलफल नभएको भन्दै मन्त्रालयका प्रतिनिधि उपस्थिति भएनन्।
असार ५ गते मुद्दाको सुनुवाई गर्दै अदालतले अर्को आदेश नहुँदासम्मका लागि निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि वैदेशिक अध्ययन अनुमति शाखाले एनओसी दिन थालेको थिएन।
अदालतको अन्तरिम आदेशपछि पनि एनओसी दिन शुरू नभएको भन्दै अभिषेख खतिवडालगायतका विद्यार्थीले फेरि अदालतमा मुद्दा हालेका थिए। त्यसपछि सबै पक्षको सल्लाह र सुझावपछि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई आइतबारदेखि एनओसी दिन शुरू गरेको शाखा प्रमुख तथा उप–सचिव महेश्वर शर्माले बताए।
‘असार ५ गते नै अदालतले अन्तरिम आदेश जारी गर्दै जेठ २९ गतेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको रहेछ। तर, हामीले शुरू गरेका थिएनौँ,’ शाखा प्रमुख शर्माले भने, ‘सबैसँग सल्लाह गरेर आइतबारदेखि ‘नो अब्जेक्सन लेटर’ दिन शुरू गरेका छौँ।’ उनले अर्को आदेश नआएसम्म ‘नो अब्जेक्सन लेटर’ दिइने बताए।
एनओसी दिन शुरू गरिएकोमा राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का संयोजक सन्तोष प्याकुरेलले खुसी व्यक्त गरे। उनले भने, ‘अदालतले पहिले नै स्वागतयोग्य निर्णय गरेको थियो। तर, वैदेशिक अध्ययन अनुमति शाखाले कार्यान्वयन गरेको थिएन। आइतबारदेखि शुरू गरेको छ। त्यसले शिक्षा व्यवसायी, विद्यार्थी र अभिभावक सबै खुसी भएका छन्।’