प्रदेश नं ५ को राजधानी तोक्ने विषयमा प्रदेश सरकारले दाङ प्रस्ताव गरेपछि प्रदेश संसदमा एकै मत भएन । अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी गरिनुपर्ने भन्दै प्रतिपक्षी नेपाली कांग्रेसका केही सांसद संसदमा तोडफोडमै उत्रिए । सत्तापक्ष नेकपाका केही संसद पनि सन्तुष्ट देखिएनन् । अन्ततः यी विवादबीच प्रदेश संसदले दुई तिहाई बहुमतले दाङलाई नै राजधानी घोषणा गरेको छ । राजधानी विवादका सन्दर्भमा नेपाली पब्लिकका कृष्ण गिरीले नेपाली कांग्रेसका ५ नं.प्रदेशका सांसद डिल्ली चौधरीसँग गरेको संक्षिप्त संवाद–
प्रदेश नं ५को राजधानी दाङ सार्ने प्रस्ताव संसदमा पेस भएको छ, यसलाई के भन्नुहुन्छ ?
सबैभन्दा पहिला बुझ्नुपर्ने भनेको संघीयताको बारेमा हो । संघीयता सबैलाई चाहिएको छ । संघीयता भनेको राज्यको पुनर्संरचना हो । सबै मानिस केन्द्रीय राजधानी काठमाडौं पुग्न सक्दैनन् । यसकारण देशमा संघीयताद्वारा विकेन्द्रीकरणको अभ्यास गर्ने हो । यदि संघीयता मान्ने जनताको लागि हो । यसमा धेरै कुरा जोडिन्छ ।
५ नं प्रदेशको अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको थियो । अस्थायी राजधानी तोकिएपनि यसको भौगोलिक संरचना पनि हेर्नुपर्छ । बर्दियाको कर्णाली चिसापानीबाट बुटवल आउन ६–७ घण्टा लाग्छ । रुकुम रोल्पाबाट बुटवल पुग्न त्यो भन्दा अझ बढी समय लाग्छ । यदि यसरी अधिकांश भूगोलबाट टाढा नै राख्ने हो भने त काठमाडौंमा नै राजधानी राखेर संघीयता माने भइहाल्यो नि ?
म दाङबाट ५ घण्टा खर्चनु पर्छ । रुकुम रोल्पा बाँके बर्दियाका मानिसलाई धेरै अप्ठेरो थियो । भालुवाङ उपत्यकामा पर्छ । यो ठाउँमा नवलपरासीबाट पनि ढाई घण्टामा पुग्न सकिन्छ भने बाँके बर्दियाबाट पनि त्यही अवस्था आउछ । त्यही भएर संघीयता लागु गर्ने हो भने अधिकांश जनताको सहज पहँुच हुनुपर्छ । जुन दाङ उपयुक्त ठाउँ हो । अझ बाँके बर्दिया त हामीलाई अपायक प¥यो कर्णाली प्रदेशमा जान्छौं भन्दै थिए । अब यो निर्णयले ५ नं प्रदेश टुक्रनबाट बचेको छ । बाँके बर्दियालाई पनि सहज भएको छ ।
बुटवलमा त भौतिक संरचना निर्माण हुन थालेका थिए होला नि, केही त बनेका थिए, नयाँ ठाउँमा राजधानी बनाउँदा आर्थिक व्ययभार पनि थपिन्छ नि होइन ?
अहिलेपनि बुटवलमा कुनै भौतिक संरचना बनेको छैन । मुख्यमन्त्री कार्यालय सडक कार्यालयमा छ । संसद उद्योग वाणिज्यको भवनमा संसद सञ्चालन भइरहेको छ । यस्तो अवस्थामा के भौतिक संरचना बनेको भन्नु । हामी संघीयताको कुरा गर्ने नयाँ बनउने कुरा गर्ने अनि व्ययभारको कुरा ल्याएर नयाँ बनाउने कामबाट डराएर भागेर हुन्छ । हामीले त नयाँ संरचना बनाउने भनेको हो नि । जनताको पक्षमा राम्रो काम हुन्छ भने खर्च हुन्छ । यसलाई बनाउनु नै पर्छ । हामी नयाँ नेपाल बनाउन चाहन्छौं भने नयाँ काम सुरु गनै पर्ने हुन्छ । होइन भने त सबै राजधानी काठमाडौंमा राखेर बसे भइहाल्यो नि ।
तपाईं राजधानी दाङ बनाउनु सही निर्णय भएको बताउँदै हुनुहुन्छ तर तपाईंकै पार्टीका सांसदहरुले हिजो संसदमा गरेको घटनालाई के भन्ने त ?
उहाँहरुले के कारणले यस्तो गर्नुभयो त्यो मलाई थाह छैन । त्यतातर्फ जान पनि चाहदैन । तर नेपाली कांग्रेसको मूल्यमान्यता कुर्सी भाच्ने होइन । रेलिङ भाँच्ने हाम्रो संस्कार होइन । हिजो नै पार्टीका प्रवक्ता विश्वप्रकाश ज्यूले पनि विज्ञप्ती निकालेर प्रष्ट पारी सक्नुभएको छ ।
सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोकिएको छ । जुन राम्रो हो । तर पक्ष विपक्ष भन्नुभन्दा पनि राम्रो काम भएको छ । जहाँसम्म हिजोको घटना छ केही साथीहरुको भावनामा चोट पुगेको छ । भावनात्मक सम्बन्ध हुन्छ नै । यस्तो अवस्थामा केही असहज हुनु अन्यथा मान्न सकिदैन । यसमा कांग्रेस पार्टीभन्दा पनि केही साथीहरुको भावनामा परेको चोटको कारण भएको हो । उहाँहरुले गरेको कामलाई नराम्रो भन्न सकिदैन ।
अब बुटवलबाट राजधानी सर्ने प्रक्रिया सुरु भयो भन्दा हुन्छ, यो राजधानी दाङबाट सञ्चालन हुन कति समय लाग्ला ?
राजधानी सार्नेभन्दा पनि राजधानी स्थायी बनाउने प्रक्रिया सुरु भएको छ । यसको पनि आफ्नो प्रक्रिया हुन्छ । तर पनि यसलाई स्थायी रुपमा सार्न समय लाग्छ । हाम्रो यो कार्यकाल बुटवलमा नै रहन्छ । भौतिक संरचना बन्नु प¥यो । यसको लागि राजधानी बनाउन चाहने सबै पूर्वाधारहरुको निर्माण गर्नुपर्छ । त्यसकारण आजको भोलि नै हुँदैन । समय लाग्छ । तर स्थायी राजधानी दाङ हुन्छ ।
५ नं प्रदेशका जनतामा त बानी नै भइसकेको थियो नि राजधानी बुटवल हो भनेर त अहिले आएर किन सार्नु प¥र्यो ?
प्रमुख कुरा भौगोलिक दूरी हो । दोस्रो भौतिक संरचनाको कुरा हो । बुटवल आफैमा औद्योगिक नगर हो । सांस्कृतिक नगर हो । व्यापारी नगर हो । यसको आफ्नै फरक फरक पहिचान छ । आफैमा ऐतिहासिक सहर हो । यसको आफ्नै इतिहास छ । यसको भविष्य धेरै राम्रो छ । बुटवल राजधानी नहुँदा पनि दाङदेखि धेरै जिल्लाका मानिसहरुको व्यापारी सहर हो । यसको सांस्कृति मान्यता छ । बुद्धको जन्मभूमि हो । यसको पहिचान राजधानीले भन्दा अरु कुरा नै धेरै छ ।
तपाईं दाङमा राजधानी हुनु ठिक छ भन्दै हुनुहुन्छ तर तपाईंको पार्टीका सांसदहरु विरोधमा उत्रे पार्टीभित्र नै राजधानीका बारेमा द्वन्द्व रहे छ नि त ?
द्वन्द्व त भइहाल्छ । बुटवलका साथीहरुले बुटवल राजधानी हुनुपर्छ भन्छन् नै । हामी दाङका साथीहरुले दाङ भन्नु स्वभाविक हो । तर हामी हिजो संसदमा भएको नाराजुलुसमा सहभागी भएनौं ।
उहाँहरुले हामीलाई भन्नुभयो हामी आन्दोलन गर्छौं तपाईंहरु गर्न दिनु होस् भन्नु भयो । हामीले गर्नुहोस् भन्यौं । हामी भने तोडफोडमा सहभागी भएनौं । यो चुनाव होइन । यो कुनै पार्टीको मात्र इश्यू होइन । यो जनताको कुरा हो । जनतालाई सहज हुने कुरामा आन्दोलन गर्नु हुँदैन भनेर हामी धेरै जिल्लाका साथीहरु तोडफोडमा सहभागी नै भएनौं ।