काठमाडौं– ५ नं प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी भएको छ । मंगलबार बसेको प्रदेशको संसदबाट दुई तिहाई मतबाट राजधानी दाङ र नाम लुम्बिनी पारित भएको छ ।
नेपालको संविधानको धारा ८८ को उपधारा २ बमोजिम प्रदेशको राजधानी र नामाकारण गरकोे छ । लुम्बिनी प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्यहरु छन् । जसमा ८२ जना मतदानमा सहभागी भएका छन् । सोमबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले राखेको प्रस्तावमा मतदान हुँदा दाङ राजधानी बनाउने पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ ।
लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकामा हुने भएको छ । राजधानी भएको ठाउँ राप्ती उपत्यकाको देउखुरीमा हुने छ ।
लुम्बिनी प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा लामो समयसम्म विवाद भएको थियो । राजधानी तोक्ने विषयमा सुझाव संकलन गर्ने गरी दिपेन्द्रकुमार पुनको नेतृत्वमा विशेष समिति नै बनाएको थियो । विशेष समिति मातहत उपसमिति बनाएको थियो ।
उपसमितिले १२ वटै जिल्लामा गएर सुझाव संकलन गरेर प्रतिवेदन बनाएको थियो । उपसमितिले बुझाएको प्रतिवेदन मुलसमितिले अन्तिम रुप दिन नसकेपछि नामाकरण र राजधानी तोक्ने काम लम्बिदै आएको थियो । उपसमितिले राजधानीको लागि सबैभन्दा बढी मत दाङले पाएको थियो ।
प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा तीन जना विज्ञको टोली गठन गरेको प्रदेश सांसद पार्वती घर्तीमगरले बताइन् । उनले भनिन् ‘प्रदेशको नामाकरण गर्ने विषयमा समिति, उपसमिति र विज्ञको टोली बनाएको थियो । विज्ञ टोलीमा सुरक्षा, वातावरण र भूगोलका तीनजना हुनुहुन्थ्यो । उक्त टोलीले दाङ राजधानी बनाउन सिफारिस गरेका हो ।’
उसो त ५ नं प्रदेशको स्थायी राजधानी र नामको सिफारिस गर्न गठित विशेष समितिको म्याद नै तीनपटक थपिएको थियो ।
प्रदेश स्थापना भएको लामो समय हुँदा पनि विवादका कारण नाम र स्थायी राजधानी तोक्न सकेको थिएन । एक पक्ष बुटवल नै राजधानी हुनुपर्छ भन्ने अडानमा थिए भने अर्को पक्ष दाङ राजधानी हुनुपर्छ भन्ने पक्षमा । ५ नं प्रदेशमा नेकपाको सरकार छ । नेकपाका पनि बहुमत सांसद दाङको पक्षमा रहेका भएपनि विवादका कारण स्थायी राजधानी तोक्न नसकेको प्रदेश सांसद अमर डागी बताउँछन् ।
उनले भने, ‘संघीयताको मर्म अनुसार राजधानी तोक्नुपथ्र्यो । जुन काम सहजै हुन सक्ने अवस्था थिएन । अहिले बल्ल तोक्न सहज भयो । दाङ तोक्नुको कारण भौगोलिक, वातवरण र सुरक्षाको रुपमा सहज भएकाले हो ।’
विज्ञहरुमा शिवराम प्रधान सुरक्षा, उद्धवराज खड्का वातावरण र कृष्णप्रसाद पौडेल भूगोल थिए ।
अझ प्रदेश सभाको दुई तिहाई मतले प्रदेशको स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने संवैधानिक व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार सत्ता पक्षका सांसदहरुमा पनि एक मत नुहुँदा यो प्रक्रिया लम्बिएको थियो ।
संसदमा सत्तारुढ दलले दाङ राजधानी तोक्न र लुम्बिनी नामकरण गर्न संसदमा प्रस्ताव पेस गर्नेबित्तिकै प्रमुख प्रतिपक्षका केही सांसदहरुले संसद नै अवरुद्ध गरेका थिए । केही समय स्थगित गरेर सुरु भएको संसदमा पुन प्रतिपक्षका सांसदहरुले नारा जुलुस र तोडफोड नै गरेका थिए ।
तर पनि अन्ततः ५ नं प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी भएको छ ।
---
सच्याइएको : ६९ मत हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।