सन् १९१४ सेप्टेम्बर ८ अर्थात वि.सं. १९७१ भदौ २४ गते शल्यक्रियापश्चात आमा दिव्याको कोखबाट एक बालकको जन्म भयो। पण्डितहरुले उक्त बालकको नाम चूडामणी जुराएतापनि वनारसमा जन्मेकोले काशीका आदि देवको प्रसाद ठानी बालकका ठूलोबुबाले उक्त बालकको नाम विश्वेश्वरप्रसाद कोइराला राखिदिए।
तत्कालीन समयमा शल्यक्रियामार्फत बच्चा जन्माउनु वा जन्मिनु नै एक विद्रोह जस्तै थियो। र, विद्रोहमार्फत जन्म लिने ती बालक थिए, विश्वेश्वरप्रसाद कोइराला अर्थात् विपि कोइराला। शल्यक्रियामार्फत जन्मिएका रोमका सम्राट जुलियस सिजरको नाममा राखिएको सिजरियन शल्यक्रियामार्फत जन्मेका विपी कोइराला पनि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा सर्वाधिक लोकप्रिय नेता बन्न पुगे।
विश्वयुद्धको समयमा जन्मिएका विपीले धेरैजसो पुराना आस्था अनि मूल्यमान्यताहरु तोड्दै हुर्किए। आफ्नो जन्म नै द्विविधापनमा भएको भन्दै विपीले आफूले जन्मने समयमा नै आफ्नो अड्डिपनको परिचय दिएको र सायद त्यसदिन आफूमाथि बलप्रयोग भएकोले नै आफू जिवनभर विद्रोही भएको हुन सक्ने लेखेका छन्। उनले त्यसै दिनदेखि आफ्नो जीवनमा विद्रोहको बीज रोपिएको हुन सक्ने पनि बताएका छन्। यिनै विद्रोही विपीको विद्रोहको उपज आज हामीले देशमा प्रजातन्त्र पाएका हौँ।
आफ्नो जीवनको सुरुवाती खण्डहरु विपीले भारतमा नै बिताएका थिए। वनारसमा सरकारी विद्यालयमा पढ्दै गर्दा विद्यालयबाट फर्कने क्रममा एक दिन विपीले भारतका स्वतन्त्रताका नायक महात्मा गान्धीको भाषण सुने। गान्धीले उक्त दिन ‘असहयोग आन्दोलन’ बारेमा भाषण गर्दै थिए र अंग्रेजहरुलाई हरेक ढंगले असहयोग गर्न केटाकेटीहरुले अंग्रेज सरकारको सरकारी विद्यालयहरु छोड्नुपर्छ भन्दै थिए।
गान्धीको भाषणबाट अति नै प्रभावित भएका सात वर्षका बालक विपीले सभामै उभिएर तत्कालै आजैबाट सरकारी स्कुल छोडेको भनी घोषणा गरिदिए। विपीपछि विपीका दाजु ९ वर्षिय मातृकाप्रसाद कोइरालाले पनि भाइ विपीले जस्तै सरकारी विद्यालय छोडेको घोषणा गरिदिए। गान्धीको सभामा उपस्थित सबैले विपी र मातृकाको उक्त घोषणाको तालीले स्वागत गरे। विपी र मातृकालाई मञ्चमै लगियो र नमूना विद्यार्थी भन्दै महात्मा गान्धीले फूलमाला लगाइदिए।
सोही सभामा रहेका अर्का भारतीय नेता जवाहरलाल नेहरुले विपीलाई काखमा लिए। सरकारी विद्यालय छोडेपछि विपी र मातृका गान्धी आश्रम विद्यालयमा पढ्न थाले। यसरी विद्रोही विपीले सात वर्षको उमेरमै एउटा ऐतिहासिक महत्वको विद्रोह गरिसकेका थिए।
अंग्रेजबाट भारत मुक्त नभएसम्म नेपाल पनि राणाहरुबाट मुक्त हुनै नसक्ने भन्ने विपीका पिता कृष्णप्रसादको बुझाई रहेको थियो र उनले विपीसहितका आफ्ना छोराछोरीहरुलाई पनि त्यही अनुसार प्रशिक्षित गराइसकेका थिए। विपीले एकपटक भारतीय कम्युनिस्ट पार्टी (भाकपा) का नेता श्रीपद् अमृतपद डाँगेसँग रेल यात्रा गर्ने अवसर पाएका थिए। डाँगेसँगकै उक्त रेलयात्राले विपीलाई कम्युनिज्मप्रति आकर्षित गराइदियो।
बनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत रहँदा विपी कम्युनिस्ट विद्यार्थी संगठनको सचिव थिए भने पछि अध्यक्ष नै भए। पछि समाजवादी नेता जयप्रकाश नारायणको सम्पर्कमा पुगेपछि जयप्रकाशले विपीलाई समाजवादी बन्न प्रेरित गरेका थिए। कम्युनिस्टहरु भारतीय स्वतन्त्रताको आन्दोलनबाट अलग भएको र कम्युनिस्टहरु अंग्रेजहरुसँग मिलेको आरोप समाजवादी नेताहरुको थियो। समाजवादी नेताहरु लगातार अंग्रेजहरुको हिरासतमा रहने र कम्युनिस्ट नेताहरु स्वतन्त्र हिँडिरहने वास्तविक स्थितिले विपीलाई पनि आफ्ना कम्युनिस्ट नेताहरुप्रति अविश्वास जाग्दै गयो।
त्यही क्रममा जयप्रकाशले विपीलाई भनेका थिए, ‘तिमी १८ वर्षको छौ र कम्युनिस्ट छैनौ भने सोच्नुपर्छ तिम्रो हृदय छैन। तर, तिमी २८ वर्षमाथिका छौ तैपनि अझै कम्युनिस्ट छौ भने बुझ्नुपर्छ तिम्रो दिमाग छैन।’ भनिन्छ, यही कुराले वामपन्थी विचारधाराका विपीलाई प्रजातान्त्रिक समाजवादी बनाइदियो। सन् १९२९ को सत्ता लडाइँमा स्टालिन मारिएको खबरले आफूलाई ठूलो चोट पुगेकोले आफुले कम्युनिस्ट पार्टी त्यागेको पनि विपी भनिरहन्थे। सायद विद्रोही विपीको अर्को एउटा विद्रोह यो पनि थियो।
कम उमेरमा नै भारतीय स्वतन्तत्रा आन्दोलनमा सक्रिय विपी भारतीय नेताहरुमाझ पनि लोकप्रिय हुँदै गइरहेका थिए। दोस्रो विश्वयुद्धको समयमा विपी बिहारमा समाजवादी पार्टीका सचिव थिए, त्यही समयमा ब्रिटिस सरकारले विपीलाई जबरजस्ती सेनामा भर्ना गर्यो र ब्रिटिस सेनाहरुलाई भड्काएको आरोपमा पक्राउ गर्यो। केही समयमा ब्रिटिस सरकारले विपीलाई भारतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादसँगै जेलमा सारियो जहाँ करिब चार वर्ष जेलमा रहँदा विपीले जयप्रकाश नारायण, जगजीवन रामलगायतका नेताहरुसँग विपीले संगत गरे जसले पनि विपीलाई प्रजातान्त्रिक समाजवादी बनाइराख्यो। यही जेलजीवनले विपी भने नेपाल र भारत दुबै देशमा चर्चित भइराखे।
देशमा राणाविरोधी आन्दोलन सुरु हुँदै गर्दा विपी भारतको दार्जीलिङमा वकालत गर्दै थिए। त्यही समयमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठहरुको फाँसी प्रत्येक नेपालीको चुनैती हो भन्दै नेपालीले कायर भएर सहर बस्ने कि सचेत भएर प्रतिरोध गर्ने भन्दै दार्जीलिङमा बसिरहेका नेपालीहरुको भेलामा विपीले प्रश्न गरेका थिए। नेपालीहरुसँग यही दुईवटा विकल्प मात्र रहेको भन्दै कायरताको बाटो छाने सयौँ नेपालीले यसरी नै मारिनुपर्ने भन्दै सबैलाई विद्रोहको पक्षमा उभिन सार्वजनिक आह्वान गरिसकेका थिए।
विपीको यही भाषण नेपाली कांग्रेसको सुरुवात थियो भने दार्जीलिङको यही भेलाले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई सहिद घोषणा गरेको थियो। लगत्तै विपीले राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाको लागि छलफल र सहकार्य अगाडि बढाउन थाले। पटकपटकको लडाइँ र संघर्षपछि अन्ततः नेपालम राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएरै छोड्यो। आफ्नो जिद्दीपन र विद्रोही स्वभाव विपीले फेरी एकपटक प्रमाणित गरिदिए र विद्रोहमार्फत नेपालमा राणाकालीन अँध्यारो युगको अन्त्य गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे।
राणाकालीन युगको अन्त्यपछि नेपालमा केही राजनीतिक उतारचढावहरु भइरहे। नेपालको पहिलो आमनिर्वाचन पश्चात विद्रोही विपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्न पुगे। प्रजातान्त्रिक समाजवादी विपीले संसदीय व्यवस्थाको उच्चतम परिकल्पना गरेका थिए। संसदीय बहसमा विपक्षीको कडा आलोचना गरेतापनि अन्य समयमा विपीले विपक्षीसँग पनि मित्रवत् व्यवहार गर्थे। विपक्षी दलका नेतालाई मन्त्री सरहको सम्मान दिएर विपीले संसदीय व्यवस्थामा विपक्षीको उच्च महत्व हुन्छ भन्ने पाठ भविष्यको नेपाललाई सिकाइरहेका थिए।
त्यस्तै, आफ्नो सरकारलाई संसदप्रति उत्तरदायी बनाउन हरेक मन्त्रीहरुलाई संसदमा अनिवार्य उपस्थित भएर सांसदहरुले राखेको प्रश्नको उत्तर दिन विपीले दिएको निर्देशनले पनि विपीको संसदीय व्यवस्थाको कल्पनाबारे हामीले बुझ्न सक्छौँ। संसदमा विपक्षीभन्दा धेरै प्रश्न गर्ने पनि विपीकै पार्टीका नेताहरु थिए। पार्टीका अन्य नेताहरु यसरी प्रश्न गर्ने पार्टीका सांसदहरुसँग असन्तुष्ट देखिएपनि विपी भने बारम्बार प्रश्न गर्न हौसाइरहन्थे।
सत्ता पक्षको होस् वा विपक्षको सांसदहरुको प्रश्नले सरकारले आफ्नो कमिकमजोरी थाहा पाउने र आफूलाई सच्याउने अवसर पाउने भन्दै विपीले सांसदहरुको प्रश्नले संसदीय प्रजातन्त्र झनै बलियो भएर जाने बताइरहन्थे। विपीले परिकल्पना गरेजस्तै संसदीय व्यवस्थाको अभ्यास विपीपछाडि भने कसैले गरेन।
प्रजातान्त्रिक समाजवादी सँगसँगै विद्रोही विपीले प्रधानमन्त्री रहँदा किसानको पक्षमा कार्य गर्न आफ्ना मन्त्रीहरुलाई समेत निर्देशन दिसकेका थिए। हरेक निर्णय गर्ने बेलामा नेपालको माटो र किसानलाई सम्झिनु भनेका विपीले त्यसबखत नै क्रान्तिकारी भूमीसुधार लागुगर्ने कोशिस गरेका थिए। जसको कारण विपी पूँजीपति र शोषकहरुको आँखाको तारो बनिसकेका थिए।
विपीलाई प्रधानमन्त्रीबाट हटाउने प्रयासहरु सुरु भइसकेको थियो। यही क्रममा तत्कालीन राजा महेन्द्रले तत्कालीन संसदका विपक्षी दलहरुलाई विपीविरुद्ध उभिन अनुरोध गरिरहेका थिए, तर नेपालको विकासको लागि विपी प्रधानमन्त्रीमा रहिरहनुपर्छ भन्दै कोही पनि विपीविरुद्ध जान चाहेनन्। यसैबाट पनि विपीले विपक्षीहरुलाई पनि साथै लिएर अगाडि बढ्ने बलियो संसदीय लोकतन्त्रको अभ्यास थालिसकेका थिए भन्ने प्रष्ट हुने गर्दछ।
त्यसो त विद्रोही विपीले प्रधानमन्त्री रहँदा पनि विद्रोह जारी राखे। प्रधानमन्त्री विपी कोइरालाले विसं २०१६ माघ ३ गतेदेखि माघ १६ गतेसम्म भारतको औपचारिक भारत भ्रमण गरेका थिए। सात वर्षको उमेरमा गान्धीको सभामा उभिएर विद्यालय छोडेको घोषणा गर्दा विपीलाई काखमा लिने नेता जवाहरलाल नेहरु भारतका प्रधानमन्त्री थिए।
नेहरुले विपीलाई भारत भ्रमण लगत्तैको चीन भ्रमणमा यो यो विषयमा कुरा गर्नपर्छ भनी निर्देशन दिन खोजेका थिए, तर जवाफमा विपीले नेपालले चीनसँग के के विषयमा कुरा गर्नपर्छ त्यो आफूलाई थाहा भएको र त्यो नेपालको आन्तरिक विषय भएकोले आफ्नै हिसाबले कुरा गर्ने भनिदिए। विपीको यस उत्तरपछि भने नेहरुले पनि विपीलाई नेपालको प्रधानमन्त्रीबाट हटाउन राजा महेन्द्रसँग सहकार्य थालिसकेका थिए।
त्यस्तै, प्रधानमन्त्री विपीले २०१६ फाल्गुन २३ गतेबाट चीनको औपचारिक भ्रमणको सुरुवात गरे। मध्यरातमा प्रधानमन्त्री विपी कोइरालाले चीनीयाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङसँग भेट्ने अवसर पाए। त्यही बेला माओले सगरमाथालाई दुवै देशको साझा चुचुरो बनाउन प्रस्ताव गरे।
माओले भने– ‘यसलाई मितेरी चुचुरो बनाऊँ।’ विपीले असहमति जनाउँदै भने, ‘यो त हाम्रो देशभित्र छ। कसरी साझा चुचुरो बनाउने?’
माओले सोधे, ‘तिम्रो देशमा पर्छ कसरी भन्ने? यसको त नेपाली नाम नै छैन।’
विपीले तत्काल भने, ‘नेपाली नाम छ। हामी सगरमाथा भन्छौँ। चिनीयाँहरुको नाम पनि त छैन, चोमोलुङ्मा त तिब्बती नाम हो।’
त्यसपछि माओले ‘तिब्बत भनेको चीन नै त हो नि’ भन्ने जवाफ दिए।
दुई नेताबीच झण्डै डेढ घण्टा कुरा भयो। पछि विसं. २०१७ वैशाख १६ गते नेपाल भ्रमणमा रहेका तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एल लाईले भारतीय पत्रकारले सोधेको नेपालसँगको सीमा विवादबारेको प्रश्नको उत्तर दिँदै चीनले आफ्नो नक्सा फिर्ता गरी नेपालको नक्सा स्वीकारेको र सगरमाथा नेपालको नै रहेको घोषणा गरिदिए। र, सँगै दक्षिणबाट आरोहण गर्नेलाई नेपालले र उत्तरबाट आरोहण गर्नेलाई चीनले अनुमति दिने निर्णय भएको प्रष्ट पारिदिए र यही निर्णय अहिले सम्म पनि कायम नै रहेको छ।
त्यस्तै, विसं २०१७ असार १५ गते मुस्ताङको नेपाल–चीन सीमा नजिकै नेपाली भूमीमा चिनियाँ सैनिकको गोलीबाट सुबेदार बमप्रसादको घटनास्थलमा नै मृत्यु भयो। १७ जना नेपाली कर्मचारीसहित उनीहरुका साथमा रहेको घोडा र सामान पनि चिनियाँहरुले लिएर गए। चिनियाँ पक्षले दुई देशबीचको सम्झौता उल्लङ्घन गरेका भन्दै नेपाल सरकारले भत्र्सना मात्र गरेन, प्रधानमन्त्री विपी आफैँले चीनका समकक्षीलाई पत्र लेखे र क्षतिपूर्ति समेत दाबी गरे। तल्लो तहको कर्मचारीबाट गल्ती भएको भन्दै चीनले माफी माग्यो र प्रधानमन्त्री विपीले दाबी गरे बराबरको क्षतिपूर्ति समेत प्रदान गर्यो। यसरी विपीले अनेकौँ पटक आफ्नो विद्रोही छविलाई जोगाइराखे।
प्रजातान्त्रिक समाजवादी भएता पनि कम्युनिस्ट शैलीका क्रान्तिकारी सुधार गरिरहेका विपीको पक्षमा कोही उभिन तयार नभएपछि राजा महेन्द्रले जननिर्वाचित संसदको हत्या गरे र विपीलाई पक्राउ समेत गरे। अनेक राजनीतिक उतारचढावबीच विपीले आफ्नो विद्रोह जारी राखे। तत्कालीन राजाले निरङ्कुश पञ्चायती व्यवस्थाको सुरुवात गरिसकेपछि विपी पुनः भारतमा बस्न पुगे। राजाविरुद्ध र प्रजातन्त्रको लागि भारतबाटै विपी लडिरहेका थिए।
सिक्किमको भारतमा विलयसँगै भारतले फेरि एकपटक विपीलाई नेपालको राष्ट्रपति बनाइदिने प्रस्ताव गरेको थियो। विपीले यसबारे साथीहरुसँग सल्लाह गरेर उत्तर दिन्छु भनी जवाफ फर्काए।
त्यसबेला बिपी सँगै रहेका व्यक्तिले बिपीलाई सोधे– तपाईंले प्रस्ताव किन स्वीकार नगर्नु भएको?
विपीले उत्तर दिए– राजालाई हटाएर मलाई राष्ट्रपति बनाउन सक्नेले भोलि मलाई हटाएर नेपालको अस्तित्व समाप्त गर्न पनि सक्छ, त्यसैले यो म मान्दिनँ।
ती व्यक्तिले फेरि सोधे– त्यसोभए तपाईले हुदैन किन नभन्नुभएको त?
विपीले फेरि उत्तर दिए– यदि मैले हुँदैन भनेको भए उनीहरुले अर्को पात्र तयार गर्छन्, तर अब उनीहरु मेरो जबाफको पर्खाइमा हुनेछन्।
यसपछि भने विपी बरु राजाले मारे मारून्, जेल हाले हालुन्, तर नेपाल नै फर्किन्छु भन्ने मनस्थिति बनाएर राजा र आफ्नो घाँटी जोडीएको अभव्यक्ति पुनः दिँदै नेपाल फर्किएका थिए।
विपीसँगै स्वदेश फर्किएका नेता रामबाबु प्रसाईं ती दिन यसरी सम्झन्छन्, ‘सिक्किम भारतमा विलय हुनुभन्दा पाँचछ महिनाअघिको कुरा हो। सिक्किमका पाँचसात नेता विपीलाई भेट्न सारनाथ आएका थिए। उनीहरुले भने, ‘हामी भोटे राजा फाल्न चाहन्छौँ। तैपनि तपाईंसँग सल्लाह माग्न भनेर आएको।’
उनीहरुसँग विपीले भन्नुभएको थियो, ‘प्रजातन्त्रको हत्या त नेपालमा पनि भएको छ। तर, हामी राजा हटाउन चाहँदैनौँ। किनभने राजा हटाउँदा हामी नेपाललाई स्वतन्त्र राखिरहन सक्दैनौँ। राजा चाहिन्छ। तपाईंहरु पनि राजा फाल्न लाग्नुहुन्छ भने सिक्किम त स्वतन्त्र रहन सक्दैन नि।’
त्यसपछि उनीहरु फर्किए। त्योबेला के भएको थियो भने सिक्किमका प्रजातन्त्रवादिहरू पनि भारतलाई राजाले दुःख दिए केही गर्नुपर्यो भन्दा रहेछन् र राजा पनि जनताका नेता भनाउँदाहरुले सार्है दुःख दिए भन्दा रहेछन्। हुँदाहुँदा जनमतसंग्रह नै भयो। राजा चाहिन्न भन्ने पक्षमा भारी मतदान भयो। ‘राजा उडेपछि सिक्किमको स्वतन्त्रता पनि उड्यो।’
आत्मवृत्तान्तका सम्पादक वरिष्ठ अधिवक्ता गणेशराज शर्माले २०३९ साउन ६ गतेको विपीसँगको अन्तिम कुराकानीका बारेमा लेख्छन्, ‘म उहाँको नजिक स्टुलमा बसेँ। खाटमा गिरिजाबाबु बस्नुभयो। म आएको कुरा गिरिजाबाबुले अलि जोरले भन्नुभयो। विपीका हात उठ्न सकेनन्। अनुहारमा कुनै परिवर्तन थिएन। तैपनि हत्केलाका चार औला मुठी पारे जस्तै खोल्ने र बन्द गर्ने गर्नुभयो। मैले हत्केला सुमसुम्याएँ। अलि सजिलो देखिनुभयो। गिरिजाबाबुलाई उहाँको सङ्केत बुझ्ने बानी परिसकेको थियो। ‘सान्दाइले बोल्नुहोस् भन्नुभयो’ भनी गिरिजाबाबुले भनेपछि मैले भने– ‘अब बोल्ने कुरा नै के छ र? तपाईजस्तो अरुको कुरा सुन्ने, विश्लेषण गर्ने, उच्च स्तरको बौद्धिकता, आदर्श र नैतिकता राजनीतिमा अब देख्न पाइनेछैन भन्ने रिक्तता अनुभव हुन थालेको छ। एउटा पिछडिएको मुलुकमा यति आधुनिक मान्यताहरुलाई सङ्गठित गर्नुभयो। यस पार्टीलाई अब तपाईं नरहेपछि कसले बौद्धिक नेतृत्व देला? कसले दिशानिर्देश गर्ला भन्ने चिन्ता हरबखत लाग्छ।’ मैले यी कुरा भनिसकेपछि विपीको अनुहारमा पिडा बढेका लक्षण देखिए। झण्डै रुन लागेको जस्तो आकृति र स्वभावमा उहाँले भन्नुभयो, ‘अब सबै भारतले गर्छ।’
यसरी विद्रोह गर्दै जन्मेका एक विद्रोहीले सदाका लागि नेपाल र नेपालीलाई एउटा शिक्षा दिएर बिदा भए, जुन शिक्षा नेपालीहरुले न कहिले बुझे न कहिले बुझ्न चाहे नै।
समाजवाद के हो भनी प्रश्न गर्नेहरुलाई विपीले सहज उत्तर दिने गरेका थिए– साम्यवादमा प्रजातन्त्र थपिदिनुहोस् त्यही नै समाजवाद हो। विपीले सधैँ परिकल्पना गरेको समाजवादमा विपी चहान्थे हरेक नेपालीको एउटा घर होस्। आफ्नो परिकल्पनाको घर विपीले मोरङ जिल्लामा निर्माण पनि गरेका थिए।
तर, विपीको उक्त समाजवादी सपनाको घरको आज न विपीकै पार्टीले संरक्षण गर्न सक्यो न राष्ट्रले। विपीले थालेको संसदीय अभ्यास आज न नेपाली कांग्रेसले अनुसरण गर्न सक्यो न राष्ट्रले। विपक्षीप्रति पनि सम्मान गर्ने प्रजातान्त्रिक चरित्र निर्माण हुन नसक्नु नै नेपालको आजको विडम्बना पनि हो। सात वर्षको उमेरमा विद्रोह गरेका विपीको पार्टीले आज सैद्धान्तिक राजनीतिको बाटो बिर्संदै गर्दा आजको पुस्ताले न विपीलाई बुझे न नेपाली जनताको समाजवादलाई।
हरेक वर्ष साउन ६ गते विपीलाई सम्झने मात्र गरेर नेपालको संविधानमा नै उल्लेख भएको समाजवादको लक्ष्य हासिल गर्न असम्भव छ। तसर्थ, हरेक नेपालीले र त्यसमा पनि अझै धेरै नेपाली कांग्रेसले विपीलाई आफ्नो मार्गनिर्देशक सिद्धान्तमा जीवित राख्न जरुरी छ।