विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीती र साहित्यको क्षेत्रमा छुटाउनै नसकिने नामहरूमध्ये एक हो। नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीको जन्म विसं १९७१ भदौ २४ मा बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कुमारीको कोखबाट भएको थियो।
नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व लिएका कोइरालाको जन्म भारतको बनारसमा भएको हो। आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरेका विपी विसं २०१५ सालमा नेपालको २२ औँ प्रधानमन्त्री बनेका थिए।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालालाई नेपालका सबैजसो नेताहरु राजनितीक गुरु एवं प्रेरणाका पर्यायका रुपमा लिने गर्छन्। नेकपा एकालेका तत्कालीन महासचिव मदन भण्डारीले समेत आफूलाई मनपर्ने नेताहरूको सूचीमा विपी कोइरालाको नाम पहिलो नम्बरमा राखेका थिए।
उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन्। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्।
प्रगतीवादी कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्नीमा’, ‘नरेन्द्र दाइ, र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी, ‘दुई कथा संग्रह श्वेत भैरवी र दोषी चश्मा’, ‘हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन्।
स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन कोइरालाले महत्वपूर्ण भुमिका खेलेका छन्।