विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र सोमबार एकाएक चर्चामा आए। उनले दिउँसो अघि सारेको संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्तावले उनको चर्चा चुलिएको हो।
यो प्रस्तावका कारण चौतर्फी आलोचनाको शिकार बनेका छन्, मिश्र। उनीमाथि राजावादीदेखी देशद्रोहीसम्मको आरोप लागिरहेको छ।
आलोचना गर्नेहरुको सूचीमा लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाको पनि नाम जोडिएको छ। संग्रौलाले सोमबार साँझ एक ट्वीट गर्दै मिश्रलाई कमल थापाको पार्टी राप्रपा प्रवेश गर्न सुुझाएका छन्।
उनले ट्वीटमा लेखेका छन्, ‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरूक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि!'
मिश्रले आफ्नो पार्टीभित्र छलफलका लागि पेस गरेको ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकको डकुमेन्टमा संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने बताएका छन्। १० हजार ५० शब्दको यो दस्तावेज नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित गर्दै उनले संघियता र धर्मनिरपेक्षता सँगसँगै गणतन्त्रमाथि पनि प्रश्न गरेका छन्।