लामो समयदेखि आन्तरिक विवादमा रहेको जनता समाजवादी पार्टी (जसपा) फुटाउन महन्थ ठाकुर पक्षमाथि दबाब बढ्न थालेको छ ।
यसका लागि भारतीय पक्षले आफूनिकट मानिने नेता ठाकुरमाथि दबाब दिइरहेको जसपाका एक नेताले नेपाली पब्लिकलाई जानकारी दिए ।
जसपामा विवाद भएपछि निर्वाचन आयोगले हेड काउन्ट गरेर अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । तत्कालीन अध्यक्ष ठाकुर पक्षले आधिकारिकता गुमाएको थियो । त्यसपछि ठाकुर पक्ष दलविहीन अवस्थामा जस्तै छ ।
यसअघि महन्थ पक्ष तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारमा गएको थियो । तर, अदालतको आदेशपछि सबै मन्त्रीको दल खोसिएको थियो ।
संसद विघटन बदर र सर्वोच्च अदालतको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त हुँदा अध्यक्ष उपेन्द्र यादवसँगै ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएको थियो ।
यसले यादव र ठाकुर पक्ष सरकारमा जाने सम्भावना प्रवल देखिन्छ । यसरी दुबै पक्ष सरकारमा जाँदा ‘चेक एण्ड व्यालेन्स’को नीतिमा असर पर्ने भएकाले भारतीय पक्षले ठाकुरलाई सरकार बाहिर राखेर राजनीतिक अस्थिरता कायम राख्न चाहेको स्रोतले बताएको छ ।
माधव नेपालका लागि ल्याउन लागिएको अध्यादेशले महन्थ पक्षलाई पनि फाइदा !
सरकारले ल्याउने तयारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशले नेता महन्थ ठाकुर पक्षलाई पनि फाइदा पुग्ने भएको छ ।
आफ्नो सरकार गठनमा निर्णायक भूमिका खेलेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सजिलो हुने गरि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् ।
त्यसको फाइदा आधिकारिकता नपाएका तत्कालीन जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई हुने देखिएको छ ।
हाल राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी फुटाउनका लागि संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधान छ । नयाँ ल्याउन लागिएको अध्यादेशमा पार्टी फुटाउनका लागि संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशत पुगे हुने व्यवस्था गर्न लागिएको छ ।
अध्यादेशपछि आफ्नो पक्षको संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशत पुग्ने महन्थ ठाकुर पक्षका एक नेताले दाबी गरे । अध्यादेश लगत्तै ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको उनले जानकारी दिए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूले अध्यादेश ल्याउने तयारी गरेको सुनिएको छ । हामी पनि अध्यादेशकै पर्खाइँमा छौं । जसरी पनि संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याएर नयाँ पार्टी खोल्छौं’, उनले नेपाली पब्लिकसँग भने, ‘त्यसको तयारीमा जुटिसेका छौं ।’
जनता समाजवादी पार्टीमा विवाद भएपछि निर्वाचन आयोगले हेड काउन्ट गरेर अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर पक्ष अहिले दलविहीन छ ।