यसअघि जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष रहेका महन्थ ठाकुरले नयाँ दल दर्ता गर्दैछन् । उनको नयाँ दल जनता समाजवादी पार्टी लोकतान्त्रिक गठनको प्रक्रियामा छ ।
ठाकुरले शुरु गरेको नयाँ दल दर्ता प्रक्रिया नटुंगिँदै जसपा फेरि फुटको संघारमा पुगेको छ ।
स्रोतका अनुसार ठाकुरले पार्टी विभाजन गरेपछि पनि जसपामा अहिले तीन गुट सक्रिय छन् । जसमा अध्यक्ष यादव र डा.बाबुराम भट्टराई पक्ष एक गुट हो ।
दोस्रो गुटको नेतृत्व सांसद प्रमोद शाहले गरेका छन् । उनको पक्षमा सांसदहरू रानी मण्डल, नरमाया ढकाल र अमृता अग्रहरीलगायत छन् ।
त्यस्तै, तेस्रो गुटको नेतृत्व गरेकी सांसद रेणु यादवको पक्षमा प्रदीप यादव, सुरेन्द्र यादव, रामबाबु यादवलगायत छन् ।
श्रोतका अनुसार जसपाको दोस्रो र तेस्रो गुट अध्यक्ष यादवको हेपाहा प्रवृतिबाट आजित छ । एक सांसदले भने, ‘अध्यक्ष ज्यूको हेपाहा प्रवृति सहेर अब जसपामा धेरै दिन बस्न सकिँदैन ।’
उनले दिएको जानकारी अनुसार मन्त्री बन्न नपाउने सांसदहरू जसपा फुटाउने तयारीमा छन् । उनीहरुले मन्त्रिमण्डल विस्तारलाई कुरिरहेका छन् ।
एक सांसदले नेपाली पब्लिकसँग भने, ‘अध्यक्षज्यूले सधैँ आफ्नोलाई काखा र अर्कोलाई पाखा लगाउनुहुन्छ । अब मन्त्रिपरिषद् विस्तार हुँदा कस्तो व्यवहार गर्नुहुन्छ, सबै कुरा त्यसमा भरपर्छ ।’
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेका कारण मन्त्री बन्न नपाउने सांसदलाई पार्टी विभाजन गर्न पनि सजिलो हुनेछ । उक्त अध्यादेशमा सांसद वा केन्द्रीय समितिमा २० प्रतिशत पदाधिकारी पुगे नयाँ दल दर्ता गर्न पाइने व्यवस्था गरिएको छ ।
यसअघि जसपामा सांसद ३५ थिए । ठाकुर पक्षसँग १३ सांसद गएपछि हाल जसपामा २२ सांसद मात्रै छन् । यस्तो अवस्थामा असन्तुष्ट सांसदले सजिलै पार्टी विभाजन गर्न सक्छन् ।
अध्यक्ष यादवले मन्त्रिपरिषद् विस्तारमा आफ्नो पक्षलाई नसमेटेमा पार्टी विभाजन गर्ने तयारीमा दोस्रो र तेस्रो गुट छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक पुस ५ गते संसद विघटन गरेपछि नै जसपामा विवाद सिर्जना भएको थियो । त्यसपछि सुरु भएको विवाद निर्वाचन आयोगले हेड काउन्ट गरेर उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि साम्य भएको थियो । उक्त विवाद सकिएलगत्तै जसपा फेरि विभाजनको संघारमा पुगेको छ ।
तर, अध्यक्ष यादवसँग असन्तुष्ट एक सांसद भन्छन्, ‘जसपा फेरि विभाजन गर्ने कि बचाउने भन्ने अध्यक्षज्यूकै हातमा छ । मन्त्री बनाउँदा कसरी बनाउनुहुन्छ, सबै कुरा त्यसमै भरपर्छ ।’
पछिल्लो समय तराईका जिल्लामा जसपा अध्यक्ष यादवको प्रभाव घट्दै गएको विश्लेषण असन्तुष्ट पक्षको छ । त्यसकारण यादवको पक्षमा लागिरहँदा राजनीतिक भविष्य उज्वल नदेखेका उनीहरू जसपा विभाजनको तयारीमा लागेका हुन् । त्यसका लागि मन्त्रिपरिषद् विस्तारसम्म कुर्नुपर्ने हुन्छ ।
यता सांसद रामबाबु यादवले भने आफुँ कुनै गुटबन्दीमा नलागेको बताएका छन्। ‘म कुनै पद वा केहिको लोभमा लागेर त्यस्तो कुनै गतिवीधीमा लाग्नेवाला छैन्,’ नेपाली पब्लिकसँग उनले भने, ‘म जसपा थिए, जसपा छु र जसपा रहिरहनेछु।