नेकपा एमालेको चार नेताले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची बुझाएका छन् ।
नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङले नयाँ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष ओलीलाई बुझाएका हुन् । ओलीले उनीहरूलाई सहमतिको खाका बनाउन निर्देशन दिएका थिए ।
स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ ।
सौराहमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।
ओलीले आइतबार विहान १० बजे बन्दसत्र बोलाए पनि सहमति हुन नसक्दा अझैं बन्दसत्र सुरु भएको छैन ।
अब ओलीले उक्त सूचीलाई अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।