काठमाडौं – अष्ट्रेलियाको लिभिङ कस्ट अर्थात अन्र्तराष्ट्रिय विद्यार्थीका लागि जिवनयापन लागतमा बारम्बार परिवर्तन भइरहेको छ। यो लागत एक वर्षभित्रै दुई पटक बढाईएको थियो।
तर, दोश्रो पटकको निर्णयबाट अष्ट्रेलियन सरकार पछी हटेको छ। २९ हजार ७ सय १० बनाइएको लिभिङ कस्टलाई पुर्ववत २४ हजार ५ सय ५ डलर नै कायम गरिएको छ।
लिभिङ कस्ष्टमा देखिएको यो अस्थिरताका कारण नेपाली शैक्षिक परामर्श व्यवसायीहरुमा नैराश्यता देखिन्छ। अष्ट्रेलियन शिक्षाको प्रवर्धन गर्दै आएका शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन एएईआरआई (ऐरी) नेपालका अध्यक्ष महेशबाबु तिमिल्सीना लिभिङ कस्टलगायतमा देखिएको अस्थिरताले डर पैदा गरेको बताउछन्। ‘‘अष्ट्रेलियाली शिक्षाको प्रवर्द्धकको रूपमा, हाम्रो सबैभन्दा ठूलो डर यो हो,’’ उनी भन्छन्, ‘‘यसले अष्ट्रेलियाको लामो समयदेखिको प्रतिष्ठालाई सुरक्षित, स्वागतयोग्य, उत्कृष्ट र उदाहरणीय अध्ययन गन्तव्यलाई नष्ट गर्नेछ।’’
अध्यक्ष तिमील्सीनाले अष्ट्रेलियन सरकारले अवलम्बन गरेका अध्यागमन नितीहरु स्विकार्य रहेको बताउदैँ सरकारले समस्या समाधानका लागि अवलम्बन गरेको प्रकृयाप्रति भने असहमती प्रकट गरेका छन्।