फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो। गत मंगलबार उनी नेपाल आएकी हुन्। उनलाई कोरोनाको आशंका गरिएपछि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ।
तोकिएको शर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पिपिए) खारेज गरिदिएको छ। वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणले आज सो कम्पनीसँग गरिएको सम्झौता खारेज गरेको हो। कम्पनीले धादिङ र नुवाकोटको सीमा नजिकै गल्छीमा कूल ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजना निर्माण गर्न लागेको थियो।
नेपाली कांग्रेसका युवा नेता सांसद गगन थापाले सरकारको कोरोना कोषमा सम्पूर्ण सांसदले एक महिनाको तलब जम्मा गर्न सुझाव दिएका छन्।सोमबार बिहान ट्विटरमार्फत थापाले सरकारलाई सबैले सक्दो सहयोग गर्न आह्वान गरेका छन्। सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। थापाले ट्टिरमा लेखेका छन् ‘जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’
आइतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले चन्द्रगिरि नगरपालिकामा रहेको सशस्त्र प्रहरी अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ। अस्पतालमा सेना, प्रहरी र चिकित्सक खटाएर उपचार गर्ने व्यवस्था मिलाउने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए। बैठकमा कोरोना न्युनिकरणका लागि थप प्रभावकारी कदम चाल्ने विषयमा छलफल केन्द्रित भएको थियो।
-जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको भनाई छ । यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी मंगलबार निषेधाज्ञा जारी गरिएको थियो।
पर्साको बहुदरामाई नगरपालिकाबाट आज प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको छ। बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा नं ५ बाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–५ निवासी ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पर्साकै पकहामैपुर गाउँपालिका–१ निवासी ५० वर्षीय मन्द्रिका सहनी रहेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए।
कोभिड–१९ कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक लगाएको छ। सरकारले आजदेखि लागू गरेको लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोक्ने निर्णय गरेको थियो। सवारीसाधनमा हुने भीडभाडका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने जनाउँदै सरकारले चैत २१ गतेसम्म सार्वजनिक सवारीसाधन रोक्ने निर्णय गरेको थियो।
हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ। जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुस्ताङका प्रजिअ तथा मुक्तिनाथ विकास समितिको अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिएका छन्।