१. नेपालमा काेराेना संक्रमितकाे संख्या ६ पुग्याे
काठमाडौं – नेपालमा थप एकजनामा कोरोना भाइरसकाे संक्रमण देखिएकाे छ । यो सँगै कोरोनाबाट नेपालमा संक्रमित हुनेको संख्या ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विहिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विहिबार गरिएको परिक्षणमा नयाँ संक्रमण भेटिएको बताए ।मन्त्रालयका अनुसार दोहाबाट QR 652 मार्फत् काठमाडाैं आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो।
२.मानव सभ्यताको रक्षाका लागि मिलेर लडौंः उपप्रधानमन्त्री पोखरेल
सरकारले कोरोना संक्रमणकाे राेकथामका लागि गरेकाे लकडाउन काे अवधि आगामी चैत २५ गतेसम्म थपेकाे छ । लकडाउनमा अत्यावस्यक काम बाहेककाे अवस्थामा मानिसहरुकाे आवत जावतमा राेक लगाइएकाे छ । काेराेनाकाे महामारी फैलन नदिन र आमनागरिकलाई जोगाउन यसभन्दा अर्को प्रभावकारी उपाय नभएपछि सरकार लकडाउनकाे निर्णयमा पुगेकाे हाे । यतिबेला उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकका हैसियतले कोरोनाविरुद्धको लडाइँको कमाण्ड सम्हालेका छन्। राष्ट्रिय समाचार समिति (रासस) सँगकाे अन्तर्वार्तामा उपप्रधानमन्त्री पोखरेलले मानव सभ्यताकाे रक्षाका लागि मिलेर अघि बढ्नुपर्ने बताएका छन्। हेर्नुहाेस् पुरा अन्तर्वार्ता ।
३.थोकमा घट्यो, खुद्रामा चार गुनाभन्दा बढी महँगो तरकारी
काठमाडौं- कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ ५० प्रतिशतसम्म घटेको छ। समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा तरकारी नियमित आइरहेकाले अघिल्लो साताको तुलनामा यो साता तरकारीको थोक मूल्य घटेको जानकारी दिए।
समितिका अनुसार बुधबार प्रतिकेजी गोलभेँडा ३८, बन्दा ३३, काउली स्थानीय २२, घिउसिमी २२, सेतो मुला १९ रुपियाँ थोकमा कारोबार भइरहेको छ तर खुद्रा बजारमा यी तरकारीको भाउ चार गुनाभन्दा बढी महँगो छ। बजार अनुगमन नहुँदा खुद्रामा तरकारी भाउ मनपरी भएको उपभोक्ता अधिकारकर्मी बताउँछन्।
४.कोरोना कोषमा मेगा बैंकको एक करोड ३५ लाख सहयोग
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड ३५ लाख रूपैयाँ सहयोग गरेको छ। उक्त रकममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका साथै सञ्चालक समिति र १२ सय बढी कर्मचारीको पनि योगदान छ। जसअन्तर्गत सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन्। यसबापत् करिब ३१ लाख रूपैयाँ जम्मा हुनेछ।
ओखलढुङ्गा - विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन्। बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३ जना जिल्ला फर्किएका छन्। तीमध्ये भारतबाट फर्किएका सिद्धिचरण नगरपालिकाका दुई किशोरीलाई ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ।
६.मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ
काठमाडौं - छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३ सय ३० जहाज त्यसतर्फ प्रस्थान गरको छ। कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए।
७. रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु, ८ जना घाइते
दाङ – रुकुम पश्चिममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगवहादुर केसीका अनुसार त्रिवेणी ४ का खड्का र प्रकाश बिकको घरमा बुधबार साँझ अन्दाजी साढे ६ बजेको समयमा चट्याङ परेको हो।रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ घर भई बुढा मावली त्रिवेणी गाउँपालिका वडा नम्बर ४ दम्दुका गंगाराम खड्काको घरमा आएकी १३ वर्षीया बालिका निर्मला खत्रीको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
८. देशभरकै विकास निर्माणमा धक्का, कोरोनाले विकास गति ठप्प
काठमाडाैं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास निर्माणमा ठूलो धक्का लागेको छ । कोरोना भाइरसको महामारीका कारण विकास निर्माणको काम निर्बाध रुपमा अघि बढाउन नसकिने परिस्थितिका कारण अपवादबाहेक सबै विकास निर्माणको काम ठप्प बनेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित सबै प्रकारका विकास निर्माणको काममा असर परेको हो। यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन्।
९.इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमती पनि कोरोना संक्रमित
एजेन्सी - तेल अभिभ। इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दुबै जना सरकारी निर्देशिका बमोजिम ‘आइसोलेसन’मा रहेको बताएको छ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्थे। तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थालेका थिए।