प्नधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शुक्रबार टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संजाल ट्वीटर मार्फत कुराकानीबारे जानकारी दिएका हुन्। वार्तामा दुई प्रधानमन्त्रीबिच नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ आफ्नो देशमा हेरचाह गर्ने विषयमा छलफल भएको हो। प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन्।
कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ। बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।
नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौं जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ। एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। संक्रमित उपचाररत अस्पतालका चिकित्सकले कोरोना संक्रमण भएकाहरु निको हुने क्रममा रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट साउदी अरबको शाही परिवारका १ सय ५० जना सदस्य संक्रमित भएका छन्। साउदी अरबका ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन। त्यस्तै न्युयोर्क टाईम्सको अनुसार युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा तयार पारिएको आइसोलेशनमा बस्न थालेका छन्।
कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ। यहाँ आयोजित ‘कोभिड—१९ मिडिया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिए। प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोनाको सङ्क्रमण भएको यस अघि नै पुष्टि भइसकेको छ।
प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य सरकारी कर्मचारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोनाको सङ्क्रमणका कारण मृत्यु भए पीडित परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेका छन्। उनले केही सञ्चारमाध्यममा आएजस्तो निज अग्रवाललाई कानूनी कारवाहीबाट जोगाउन आफूले कुनै भूमिका निर्वाह नगरेको प्रेस विज्ञप्तिमार्फत प्रष्ट पारेका छन्।
सूर्यबिनायक नगरपालिका–३ बालकोटमा सञ्चालित ‘परेली आयुर्बेद हाउस’ मा शिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँबाट खटिएको फार्मेसी अधिकृत धनबहादुर बोहोरा, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको टोलीले हाउसमा शिलबन्दी गरेको महानरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्।
कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन्। कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन्। घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हानेको बञ्चराेबाट गम्भीर घाइते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिए। लीलाको टाउकामा गहिरो चोट लागेका कारण स्वास्थ्यावस्था गम्भीर रहेको बताइएको छ।
हाल सम्म प्रयोगशालामा कुल ३ हजार ५ सय २४ वटा कोरोनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ। जस्मा काठमाडौं उपत्यकामा ४ सय १ र उपत्यका बाहिर २ सय ३० जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापन गर्न जुम्लामा रु छ करोड नौ हजार बजेटको व्यवस्था भएको छ। यहाँको एक नगरपालिका, सात गाउँपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय प्रशासनमा कोरोना रोकथाम गर्न बजेट व्यवस्थापन भएको हो। कोरोना भाइरस रोकथाम, नियन्त्रण उपचार र राहतका लागि जुम्लाका स्थानीय तहले १० लाख देखि एक करोडका कोरोना विपत कोष बनाएका छन्।