सरकारले जेठ २ गतेसम्मका लागि हवाई उडान बन्द गरेको छ। शनिबार विहान सिंहदरबारमा बसेको कोरोना उच्चस्तरीय समन्वय समितिको बैठकले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान जेठ २ गतेसम्मको लागि बन्द गर्ने निर्णय गरेको हो।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन अझैँ एक साता लम्ब्याउनु पर्ने राय दिएको छ। अब यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण कोरोना भाइरस नियन्त्रणमा आएको निष्कर्ष निकालेको थियो। त्यसलगत्तै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको हाे। त्यसपछि अर्को मोडलमा जान सकिने छ।
नेपालमा अहिलेसम्म पिसिआर र र्यापिड टेस्टबाट कुल ४९ हजार ३ सय ३६ जनाको नमुना परिक्षण भएको छ भने दुइ सय ९० जना रेड जाेनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर विधिबाट ९ हजार ६ सय ६६ तथा र्यापिड टेस्टबाट ३९ हजार ६ सय ७० जनाको नमुना परिक्षण भएका छन्।
नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो।
बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्। युवतीको पाँचौं र छैटौं स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ।
स्वास्थ्य सामग्री लिन हिमालयन एयरलाइन्सको जहाज भोली चीन जाने भएको छ। हिमालय एयरलाइन्सको एयरबस ३३२ विमानले आइतबार साँझ ५.३० बजे चीनतर्फ उडान भर्न लागेको हो। उडानको लागि अनुमति लिइसकेको र एयरलाइन्सको विमानमा कुनै प्राविधिक समस्या नआएमा उडान हुने निश्चित रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।
टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन्। कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन्।
देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन्। विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
गत चैत २६ गतेदेखि तातोपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन्। तातोपानी भन्सार कार्यालयकाअनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरिद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन्।
लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र एन–९५ मास्क बिक्रीवितरण गरेको कसूरमा शुक्रबार तीन सर्जिकल पसललाई कारवाही गरिएको छ। उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्रीवितरण भएको र खरीद बिल नभएको पाएपछि कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।