प्रदेश नं ५ को राजधानी तोक्ने विषयमा प्रदेश सरकारले दाङ प्रस्ताव गरेपछि प्रदेश संसदमा एकै मत भएन । अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी गरिनुपर्ने भन्दै प्रतिपक्षी नेपाली कांग्रेसका केही सांसद संसदमा तोडफोडमै उत्रिए । सत्तापक्ष नेकपाका केही संसद पनि सन्तुष्ट देखिएनन् । अन्ततः यी विवादबीच प्रदेश संसदले दुई तिहाई बहुमतले दाङलाई नै राजधानी घोषणा गरेको छ । राजधानी विवादका सन्दर्भमा नेपाली पब्लिकका कृष्ण गिरीले नेकपाका ५ नं.प्रदेशका सचेतक पार्वती पुन ‘उषा’सँग गरेको संक्षिप्त संवाद–
५ नं प्रदेशको स्थायी राजधानी दाङ तोक्ने प्रस्ताव संसदमा पेस भएको छ । यो अहिले नै सार्नुपर्ने अवस्था किन आयो ?
संघीयता भनेको जनताको सुगमको लागि हो । सुगमता बनाउन संघीय व्यवस्था ल्याएको हो । बढीभन्दा बढी जनतालाई सहज रुपमा सेवा दिनको लागि संघीयतामा गएका हौं । केन्द्रीय राजधानी त काठमाडौंमा छँदै थियो नि । जनतालाई सहज होस् भनेर संघीयता लागू भएको हो । त्यसकारण सबै जनताको सहज पहुँच भएको भौगोलिक क्षेत्र दाङ परेको छ । बर्दिया, रुकुम रोल्पाको लागि केन्द्र दाङ नै हो । त्यही भएर दाङ ५ नं प्रदेशको राजधानी तोकिएको हो ।
तपाईंको पार्टीका केही सांसदले पनि दाङ राजधानी तोक्दा विरोध जनाउनु भएको छ नि, यो के हो ?
विरोध गर्नु भएको होइन । उहाँहरुले आफ्नो मत संसदीय दलको बैठकमा राख्नु भएको हो । लोकतन्त्रमा आफूलाई लागेको विचार त भन्न पाइन्छ नि । त्यही भएर साथीहरुले आफ्नो विचार राख्नुभएको हो । तर ५ नं प्रदेशको सेन्टर दाङ नै पर्छ भनेर स्थायी राजधानी तोकेको हो । यो कुनै दलले भन्दा पनि विज्ञहरुको टोलीले लामो समय रिसर्च गरेर निश्कर्ष निकालेको हो । १२ वटा जिल्ला रहेको यो प्रदेशको सेन्टर दाङ पर्न गएको हो । यो भौगोलिक हिसाबले छनौट भएको क्षेत्र हो । कुनै नेता अथवा पार्टीको भन्दा पनि जनताको सुविधाको लागि तोकिएको हो । यो बसै प्रदेशबासीलाई न्याय भएको छ । सत्य सत्य नै हो । सत्य भनेको दाङ राजधानी हुनु नै हो ।
बुटवलमा त पूर्वाधार विकास भएको थियो भन्दै छन् नि, के भौतिक पूर्वाधार बनेको छ र ?
होइन, यहाँ प्रदेश सरकारको कुनै पनि भौतिक पूर्वाधार बनेको छैन । संसद उद्योग वाणिज्यको हलमा सञ्चालन भइरहेको छ । कुनै पनि मन्त्रालयको भवन बनेको छैन । यहाँ यस्तो बुझाइ छ कि दाङ राजधानी बनाउँदा सबै जिरोबाट सुरु गर्नु पर्छ । तर बुटवलमा पनि केही बनेको छैन । भौतिक ,पर्यटन मन्त्रालय भाडामा राखेका छौं ।
बुटवलको आफ्नो ठूलो इतिहास छ । यसको आफ्नो महत्व छ । यो औद्यागिक नगर हो । यो व्यापारी सहर हो । बुद्धको जन्मभूमि हो । यसको महत्व राष्ट्रिय रुपमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा पनि छ । यसलाई बौद्धहरुको प्रमुख भूमिको रुपमा अझ विकास गर्नुपर्ने छ । अन्तर्राष्ट्रिय एयरपोर्ट बनेको छ । त्यसकारण यो आफैमा महत्वपूर्ण भूमि हो । यसको महत्व राजधानीले मात्र सीमित राख्न सकिदैन । यसलाई सबै क्षेत्रबाट अझ विकास गर्नुपर्छ ।
दाङ स्थायी राजधानी हुनमा नेताहरुको जुँगाको लडाईं हो भन्छन् नि के हो सत्य कुरा ?
बाहिर आएको हल्ला हो । जुगाँको लडाईं होइन । जनताको सुविधाको कुरा हो । यसमा नेताहरुको लडाईं छैन । जनतालाई पायक पर्ने ठाउँ राजधानी तोक्ने काम भएको हो ।
५ नं प्रदेशका जनताले मत दिएर जनप्रतिनिधि छनौट गरेका छन् तर निर्णय तपाईंको पार्टीका अध्यक्षद्वयले राजधानी फलानो ठाउँ तोक भनेर प्रदेश सरकारलाई निर्देशन दिन मिल्छ र ? मतदाताको अवमूल्यन भएन र ।
अहिलेसम्मको अभ्यासको कुरा गर्ने हो भने पार्टीले निर्देशन दिन मिल्छ । यसलाई अन्यथा लिनु हुँदैन । सबै कुरा केन्द्रबाट टुङ्ग्याएको होइन । जनमत बर्दिया, रुकुम रोल्पा, दाङ, बुटवल, पाल्पा, गुल्मीका जनताले दिएका हुन् । यो सबै जनमतको कदर भएको छ । पार्टीले दिएको निर्देशन जनताको सुगमताको पक्षमा छ । कयौं कुराहरु यहाँको पार्टी संसदले निर्णय गरेपनि कहिले काँही केन्द्रबाट पनि निर्देशन दिनु पर्ने अवस्था आउन सक्छ । त्यही भएको हो ।
दाङलाई राजधानी तोक्नु पर्ने कारण भौगोलिक मात्र हो कि अरु पनि केही कारण छ ?
यसको पहिलो कारण त भौगोलिक नै हो । विज्ञ टोलीले पनि दाङ राजधानी बनाउन सुझाव दिएको थियो । यसकारण पनि दाङ राजधानी तोकेको हो । यो उपयुक्त ठाउँ हो । सबैलाई हेर्नु पर्छ ।
बुटवल पुग्न रुकुम र बर्दियाका जनतालाई जति समस्या थियो त्यति बुटवलका जनतालाई दाङ पुग्न हुदैन । त्यसकारण दाङ उपयुक्त ठाउँ हो ।
हिजो प्रमुख प्रतिपक्षले संसदमा गरेको हर्कलाई के भन्नु हुन्छ ?
प्रतिपक्षले विरोध गर्नु स्वभाविक हो । सुरुमा गरेको विरोध पाच्य नै हो । तर तोडफोड गर्नु ठिक होइन । तर कुर्सी नै तोडफोड गर्नु पनि केही समस्या होइन । तर माइक नै भाँचेर सभामुखलाई हान्नु संसदीय मर्यादा भन्दा बाहिरको कुरा हो । यसको समीक्षा उहाँको पार्टी र उहाँहरुले गर्नुपर्छ ।