प्रसवबारे कुरा गर्नुपूर्व पृष्ठभूमि र मातृत्वबारे चर्चा गर्छु ।
आमाको जस्तो पापी मन कसैको हुँदैन । न त आमाको जस्तो माया नै कसैको हुन्छ । छोराछोरीले नराम्रो काम गरे पनि बचाउन मन लाग्नु र उनीहरुको खुसीका लागि जे पनि गर्न तयार हुनु आमाको कमजोरी हो । ममा पनि त्यो कमजोरी छ ।
- आफ्नो बच्चा जन्मिएर हुर्किएको समेत सपना देख्दै गर्दा मेरो फस्ट प्रेग्नेन्सी मिसक्यारेज भयो अर्थात् बच्चा खेर गयो । त्यतिबेला कहिल्यै जोडिन्नँ जस्तै गरी टुक्रिएँ ।
छोराछोरी कतै गएर नआउन्जेल मन बेचैन हुन्छ । उनीहरुले ‘मामु म घर पुगें’ नभनेसम्म सुत्न सक्दिनँ । वास्तवमा सन्तानको मायाले आमालाई कमजोर बनाउने रहेछ । सन्तानको मायाकै कारण कतिपय आमाले आफ्नो जिन्दगी नै बर्बाद पारेका छन् । तैपनि हर नारीलाई आमा बन्ने मोहले तानेकै हुन्छ । जुन ममा पनि थियो ।
डल जस्तै भएकीले डली !
सानोमा डल जस्तै थिएँ रे ! त्यसैले डल भन्दाभन्दै मलाई डली भन्न थालियो । खासमा मेरो नाम प्रतिभा गुरुङ हो । मेरो जीवनको किशोरावस्था निकै दुःखद तरिकाले बित्यो । आमालाई क्यान्सर भएको थियो । म नै उहाँलाई स्याहार्थें । अन्तिम समयसम्म मैले नै आमाको रेखदेख गरिरहें । मेरै छेउमा आमाले संसार छोड्दा म निकै विचलित भएँ ।
- त्यतिबेला डाक्टरले मलाई तिम्रो बच्चा हुँदैन भने । म बच्चाबच्ची रुचाउने मान्छे । यो कुरा सुन्दा सारै नरमाइलो लाग्यो ।
त्यतिबेला म १५ वर्षकी थिएँ । मनमा धेरै कुराहरु खेलिरहन्थ्यो । त्यही समयतिर मलाई टेलिभिजनका लागि वाइवाइ चाउचाउको विज्ञापनमा मोडलिङ गर्ने अफर आयो । मुड फ्रेस हुन्छ भन्ने सोचेर मोडलिङका लागि राजी त भएँ तर मेरो लुक्स ‘टम ब्वाय’को जस्तो थियो । तर ममा एउटा विश्वास थियो । जे काम पनि मनैदेखि गर्याे भने राम्रो हुन्छ । साँच्चै, निर्देशकले खोजे जस्तो भइदिन सकें ।
त्यही विज्ञापनकै कारण मैले पाकिस्तानसँगको ‘ज्वाइन्ट भेन्चर’ फिल्महरुमा अभिनय गर्ने मौका पाएँ । भेन्चर फिल्मकै क्रममा म फिलिपिन्स पुगें । त्यहाँ मेरो फरक पहिचान स्थापित भयो । फिलिपिन्सकै पहिलो महिला डिजे बनें । विदेशमा डिजेइङ मेरो कमाउने बाटो थियो । त्यही बाटोले मलाई फिलिपिन्सको विज्ञापनहरुमा पनि काम गर्ने अवसर दियो । १० वर्ष लामो विदेश बसाइ एक्ली युवतीका लागि सजिलो पक्कै थिएन । फिलिपिन्सबाट कहिले जापान, कहिले कोरिया, सिंगापुर, मलेसिया, अस्ट्रेलियामा बसेर फर्कें ।
- कोखमा बच्चा हुँदा पनि ढुक्क हुन सकिनँ । हरेक रात पुरानो घटनाले झस्काइरहन्थ्यो ।
फिलिपिन्समा मोडलिङ गर्दा मलाई ‘एनोरेक्सिया’ नामक मनोवैज्ञानिक रोग लाग्यो । फोटो र ऐनामा हेर्दा आफूलाई मोटी देखिने रोगकै कारण मैले खानपानमा विशेष ध्यान दिन थालें । तर, बाहिर भेट्नेले सोध्थे, ‘किन यसरी दुब्लाएको ?’ खाना नखाएपछि म सुकेर बाँस जस्तै भइसकेको थिएँ । त्यसपछि केही खाए भने ‘भोमिट’ हुने ‘ब्लुमेरिया’ भन्ने रोग पनि लाग्यो ।
मेरो आन्द्रा सुक्दै गइसकेको थियो । मलाई एनोरेक्साले झनै मारेको । त्यही रोगकै कारण म नेपाल फर्कें । नेपालमा परिवारको साथ र मायाले मलाई राहत दियो । त्यति बेला डाक्टरले मलाई तिम्रो बच्चा हुँदैन भने । म बच्चाबच्ची रुचाउने मान्छे । यो कुरा सुन्दा सारै नरमाइलो लाग्यो ।
नेपाल आएपछि निराकार याकथुम्बासँग भेट भयो । निराकारसँगको भेट बाक्लिँदै गयो र सन् १९९४ मा हाम्रो बिहे लिम्बू परम्पराअनुसार भयो । बिहेपछि मलाई सन्तानको चाहना हुन थाल्यो तर डाक्टरले सन्तान हुँदैन भनेका थिए । साथीहरुका छोराछोरी हुर्किंदै गरेको देख्दा मलाई सन्तानको चाह झनै बढ्थ्यो ।
बिहे भएको लगभग २ वर्षपछि बच्चा बस्यो । म जति नै परिवारमा पनि उत्तिकै खुसी छाएको थियो । मैले आफ्नो बच्चा जन्मिएर हुर्किएको समेत सपना देख्दै गर्दा मेरो फस्ट प्रेग्नेन्सी मिसक्यारेज भयो अर्थात् बच्चा खेर गयो । त्यतिबेला कहिल्यै जोडिन्नँ जस्तै गरी टुक्रिएँ ।
डाक्टरले कारण प्रस्ट बताएका थिए, एनोरेक्सिया । आफ्नो शरीरको बोसो कम गर्न थोरै खाँदै गर्दा बिस्तारै खाँदै नखाने अवस्थामा पुगेपछि ममा मनोवैज्ञानिक समस्या बढ्यो । यही कारण मलाई लागेको थियो– अब म कहिल्यै आमा बन्न सक्दिनँ ।
त्यतिबेला साढे २ महिनाको बच्चा खेर गएको थियो । म दुई कुराका कारण तनाबमा थिए । एक त, आफैंलाई बच्चाहरु सारै मन पर्ने, फुटबल टिम जस्तै सन्तान जन्माउने रहर अधुरो हुने भयो । अर्काे, सासूको एक्लो सन्तान निराकार भएकाले जसरी नि बच्चा जन्माउनु पर्ने प्रेसर ।
परिवारबाट त्यस्तो कुनै प्रेसर दिइएन तर आफैँलाई डर लाग्थ्यो । ५.८ उचाइको मेरो तौल जम्मा ४५ किलो थियो । जिउ सुकेको थियो । फेरि डेढ वर्षपछि मेरो महिनावारी रोकियो र म प्रेगनेन्ट भएँ । कोखमा बच्चा हुँदा पनि ढुक्क हुन सकिनँ । हरेक रात पुरानो घटनाले झस्काइरहन्थ्यो । तर सन् १९९७ मा जीवनको सबैभन्दा खुसीको पल रह्यो । पहिलो सन्तान निरन्तरको जन्म भयो ।
मानिसहरु सुत्केरीमा अनिद्राको कुरा गर्थे तर मलाई कहिले अनिद्राको महसुस भएन । एकैपटक राति १२ बजेसम्म छोरालाई स्तनपान गराउँथे । अनि आमाछोरा मज्जाले सुत्थ्यौं । एकैपटक बिहान ५ बजे मात्रै दूध चुसाउँथे ।
२ वर्षपछि फेरि छोरी जन्मिइन् । छोरी जन्मेपछि सारै रमाइलो लाग्यो । छोरी साथी जस्तै हुन्छिन् भन्ने सुनेकी थिएँ । त्यसपछि पनि सासूले ‘अर्को एउटा बच्चा नि जन्माइदेऊ न !’ भन्न थाल्नुभयो । मलाई बच्चा मनपर्ने अनि सासूको वचन पनि हार्न नसकेर ४० वर्ष पुग्न लाग्दा तेस्रो सन्तानलाई जन्म दिएँ ।
- सासूले ‘अर्को एउटा बच्चा नि जन्माइदेऊ न !’ भन्न थाल्नुभयो । मलाई बच्चा मनपर्ने अनि सासूको वचन पनि हार्न नसकेर ४० वर्ष पुग्न लाग्दा तेस्रो सन्तानलाई जन्म दिएँ ।
मेरी सासू इन्दिरा याक्थुम्बा ज्ञानोदय विद्यालयकी प्रिन्सिपल हुनुहुन्थ्यो । बच्चाहरु ६ महिना भएदेखि उहाँले नै सुताउनुहुन्थ्यो । मसँग सबै जना बच्चाहरु डराउँथे । सासूले समेत मलाई ‘तिमी त यो घरकै आमा हौं’ भन्नुहुन्थ्यो । अहिले सबै बच्चाहरु हुर्किसके । सबै जना राम्रो पढ्छन्, अनुशासनमा बस्छन् । सबै कुरा मसित सेयर गर्छन् ।
निरन्तर गणित र विज्ञानमा निकै अब्बल थिए, डाक्टर बन्छन् कि भन्ने सोच थियो । तर, उनी म्युजिक पढ्न नेदरल्याण्ड गए । आमाका लागि सबैभन्दा खुसीको पल भनेकै छोराछोरीको खुसी रहेछ ।
केही समयअघि मलाई क्यान्सर भयो । श्रीमान् र छोराछोरीको रुवाइ र हालत देखेर निकै डराएँ । क्यान्सरलाई जितेपछि मलाई ‘मोह’ राम्रो होइन, कसैसँग पनि यति धेरै माया र लगाब हुनुहुँदैन जस्तो लाग्यो ।
(नेपालकी पहिलो मोडल डली गुरुङसँग नेपाली पब्लिक पत्रकार सिर्जना दुवाल श्रेष्ठले गरेको कुराकानीमा आधारित)