कैलाली जिल्ला घोडाघोडी नगरपालिका–५ की निर्मला पहराई मृत्यु प्रकरणमा प्रहरीले असोज १ गतेबाट छानबिन थालेको थियो । भदौ ३१ गते पहराई घरबाट बेपत्ता भएपछि प्रहरीले पीडित परिवारको उजुरीका आधारमा छानबिन थालेको हो ।
निर्मला मृत्यु प्रकरण जटिल बन्दै गर्दा घटनाको अनुसन्धान गर्ने प्रहरीको कार्यशैलीमा पनि सुस्तता बढ्दै गएको पीडित परिवारको भनाइ छ । निर्मलाका परिवारले घटनामा संलग्न व्यक्तिका बारेमा बताए पनि प्रहरीले धनकला (नाम परिवर्तन) र ललित जाग्रीलाई पक्राउ गरी उनीहरुका बारेमा अनुसन्धान नै नगरी त्यसै छाडेको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिएर छानबिन गर्नुपर्ने प्रहरीले यत्तिकै छाडिदिँदा उनीहरुले चलखेल गर्ने मौका पाएको पीडित परिवारको आशंका छ । घटनाको अनुसन्धान गर्ने काममा प्रहरीले राम्रोसँग नगरेको निर्मलाका दाइ विशाल पहराईको बुझाइ छ । निर्मला मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा समेत प्रहरीले पहराई परिवारलाई हत्याको मुद्दा नभई आत्महत्या प्रोत्साहनको मुद्दा लगाउन बारम्बार सुझाव दिएको निर्मलाको परिवारको भनाइ छ ।
त्यस्तै प्रहरीले निर्मला घटना प्रकरणलाई हत्या नभई आत्महत्या बनाएर उम्किन खोजेको निर्मलाका परिवारले आरोप लगाएका छन् ।
पोस्टमार्टम रिपोर्ट आउन ढिला
निर्मलाको पोस्टमार्टम रिपोर्ट आउन नै ढिलाइ भएको उनको परिवारले बताएको छ । उनी असोज २ गते झुन्डिएको अवस्थामा फेला परेकी भए पनि उनको पोस्टमार्टम रिपोर्ट भने १२ दिन पछि मात्र आएको थियो ।
पोस्टमार्टम रिपोर्टका लागि पनि आफूहरुले दबाब दिन परेको परिवारको भनाइ छ । पोस्टमार्टम रिर्पोट आएलगत्तै निर्मलाको दाहसंस्कार गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा पनि प्रहरीले निर्मला झुन्डिएको भनेर देखाएको निर्मलाका दाइ विशाल पहराईले बताए । प्रहरीले पोस्टमार्टम रिपोर्ट आफूहरुलाई नदेखाई फिर्ता पठाएपछि आफूहरु झन् सशंकित भएको उनले बताए । प्रहरीको यो हर्कत आफूहरुलाई चित्त नबुझेको विशाल बताउँछन् ।
अंग्रेजी शब्द नबुझेर रिपाेर्ट फिर्ता
पोस्टमार्टम रिर्पोट फिर्ता पठाएको सम्बन्धमा अंग्रेजी शब्द नबुझेपछि फिर्ता पठाइएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख सागर बोहरा बताउँछन् । सुदूरपश्चिम प्रदेश अस्पतालले अंग्रेजीमा पोस्टमार्टम रिपोर्ट बनाएको र स्पेसिया भन्ने शब्द नबुझेर नेपालीमा ट्रान्सलेट गर्न पठाएको उनी बताउँछन् । पोस्टमार्टम रिपोर्ट असोज १३ गते आएको थियो ।
आधा रिपोर्ट आयो, आधा काठमाडौंमै
निर्मला घटना प्रकरणमा आधा रिपोर्ट आइसकेको र आधा रिपोर्ट आउन बाँकी रहेको इप्रका प्रमुख बोहराले बताएका छन् । अनुसन्धानका लागि निर्मलाको भिसेरा निकालेर परीक्षणका लागि काठमाडौं पठाइएकाले भिसेराको रिपोर्ट आउन समय लागेको उनी बताउँछन् । त्यसैगरी परीक्षणका लागि २ वटा मोबाइल काठमाडौं पठाएकाले छन्, त्यस बारेमा अनुसन्धान भइरहेको उनले जनाए ।
घटनाबारे प्रहरी नै अन्योल
निर्मला घटना प्रकरणमा निर्मलाको हत्या भएको हो वा आत्महत्या भन्ने विषयमा अझैसम्म केही पत्ता नलाग्दा प्रहरी आफैं अन्योलमा परेको छ । यस विषयमा प्रहरीले आफ्नो अनुसन्धान जारी राखे पनि घटनाबारे केही निचोड ननिस्किदा प्रहरी पनि अन्योलमा परेको हो ।
प्रहरीसमक्ष हत्याको बारे उजुरी दर्ता भएपछि अनुसन्धान थालिएको अहिले र उनीसँग सम्पर्कमा भएका मान्छेहरुसँग बुझ्ने र कागज गर्ने काम भइरहेको प्रहरीले बताएको छ । यो केश नै अलिक अप्ठ्यारो भएकाले प्रहरीले निरन्तर अनुसन्धान गर्दा पनि ठोस निर्णयमा पुग्न नसकेको इप्रका प्रमुख बोहरा बताउँछन् ।