वैदिक अर्थात् हिन्दू धर्म दर्शनको सारमा ब्रम्हको कुरा आउँछ । त्यस्तै गरी बौद्ध दर्शनको सारमा शून्यता आउँछ । पहिलो आस्तिक दर्शन हो भने दोश्रो नास्तिक । सामान्यतः धेरैले के बुझ्ने गरेका छन् भने आस्तिक भन्नाले आध्यात्मवाद र नास्तिक भन्नाले भौतिकवादका पक्षपाती हुन् । तर, पूर्वीय दर्शनमा आध्यात्मवाद र भौतिकवाद नभई वेद मान्ने र नमान्ने दर्शनका रुपमा आस्तिकवाद र नास्तिकवादलाई अर्थ्याउने गरिएको छ ।
ईश्वर मान्ने र नमान्नेको आधारमा पनि आस्तिकवाद र नास्तिकवाद भनी छुट्याउने गरिन्छ । वेदको सार अर्थात् वैदिक दर्शनको सार ब्रम्ह हो भने यसमा ईश्वर र ईश्वरीय शक्तिलाई केन्द्रीय विषयका रुपमा प्रस्तुत गरिएकाेे छ । त्यसैले वेद ईश्वरवादी दार्शनिक एवं रीति ग्रन्थ हो । बौद्ध दर्शनले भने न ईश्वरको सत्तालाई स्विकार्दछ न त वेदलाई मान्दछ । त्यसैले बौद्ध दर्शन गैरवेद र अनीश्वरवादी छ ।
आध्यात्मवादले आत्मा र परमात्मा (सम्पूर्ण आत्माहरुको स्रोत) लाई अन्तिम एवं शाश्वत मान्दछ । यसको अर्थ हो– ती कुराहरुको सुरु र अन्त्य हुन्नन् । अर्थात् तिनीहरु अनन्तकालदेखि अनन्तकालसम्म रहिरहनेछन् । यस अलावा आध्यात्मवादले परमात्मा नै यस्तो चिज हो, जसबाट यो सम्पूर्ण विश्व ब्रम्हाण्डको सृष्टि भएको हो भन्ने विश्वास गर्दछ ।
यस दर्शनको मूल दृष्टि भनेको नै यसले आत्मा अर्थात् चेतन पक्ष शरीर अर्थात् भौतिक पक्षबाट अलग र स्वतन्त्र अस्तित्वमा रहेको देख्नु हो । वेदमा यिनै कुराहरुको व्याख्या पाइने भएकाले त्यो आध्यात्मवादी दर्शनको ग्रन्थ हुन पुग्यो । साथै परमात्मा नै ईश्वर हो र उसैबाट सम्पूर्ण विश्व ब्रम्हाण्डको सृष्टि भयो भन्ने दृष्टि पनि भएकाले वेद ईश्वरवादीसमेत भयो ।
बौद्ध दर्शनले वेद र ईश्वर दुवैलाई अस्वीकार गर्दछ । त्यसैले यो नास्तिक तथा अनीश्वरवादी भयो । यसले आत्मालाई पनि मान्दैन । यसरी हेर्दा यो भौतिकवादी जस्तो देखिन्छ । तर, बौद्ध दर्शन भौतिकवादी नै चाहिँ होइन ।
- यसरी हेर्दा बौद्ध दर्शन आध्यात्मवाद र भौतिकवादको बीचमा अवस्थित रहेको जस्तो देखिन्छ । त्यसैले यसलाई मध्यमार्गमा हिँड्ने दर्शनको रुपमा पनि व्याख्या गरिन्छ ।
किनकि, यसले ईश्वरवादीहरुको आत्माको अवधारणालाई केही फरक विश्लेषणमा अर्कै संज्ञामा व्यक्त गर्दछ । त्यो हो चित्त । चित्त आत्माझैं शाश्वत र अपरिवर्तनीय एवं अविनाशी (नित्य) त यसले मान्दैन तर यो भौतिक शरीरबाट स्वतन्त्र वा अलग अस्तित्वमा रहन सक्ने अवधारणालाई भने अंगीकार गर्दछ ।
बौद्ध दर्शनमा चित्तलाई उत्पन्न, विकास र नाशवान् हुने चिजका रुपमा लिइन्छ तर यसलाई शरीरको विनाशपछि पनि स्वतन्त्र रुपले रहन सक्ने चिजका रुपमा व्याख्या गरिन्छ । यसले यो विश्व ब्रम्हाण्ड ईश्वरवादीहरुले गर्ने व्याख्या जस्तै परमात्माले सृष्टि गरेको भनी विश्वास गर्दैन । बौद्ध दर्शनले यो विश्वब्रम्हाण्डको आफ्नै स्वतन्त्र अस्तित्व भएको मान्दछ । तर, यति हुँदा हुँदै पनि चित्तको पनि छुट्टै संसार भएको यसले वकालत गर्दछ । यसरी हेर्दा बौद्ध दर्शन आध्यात्मवाद र भौतिकवादको बीचमा अवस्थित रहेको जस्तो देखिन्छ । त्यसैले यसलाई मध्यमार्गमा हिँड्ने दर्शनका रुपमा पनि व्याख्या गरिन्छ ।
संसार भौतिक जगत् र चेतन जगत गरी दुई कित्तामा विभाजित छ । पृथ्वी, सूर्य, चन्द्र, नक्षत्र एवं विश्व ब्रम्हाण्डबारे खगोल एवं खगोल भौतिक विज्ञानले पत्ता लगाएको इतिहास र त्यस्तै गरी विकासवादी (evolutionary) जीव विज्ञानले पत्ता लगाएका तथ्यहरुलाई नियाल्दा चेतन जगत् त भौतिक जगतको विकासको लामो कालखण्डपछि मात्र जीवनको उद्विकास (evolution of life) को क्रममा उत्पन्न भएको देखिन आउँछ ।
अर्थात्, भौतिक जगतको विकासको क्रममा त्यसैको उपज बनेर चेतन पक्षको उदय भएको देखिन्छ । चेतन जगतविना पनि भौतिक जगतको अस्तित्व रहन सक्छ, तर भौतिक जगतविना चेतन जगतको अस्तित्व रहन्न । कुनै जीवनमा विकसित चेतन त्यो जीवनको विनाशपछि सँगसँगै स्वतः समाप्त हुन्छ । त्यसैले संसार चेतन र भौतिक गरी जगतका दुई कित्तामा विभाजित भएको छ भनिए पनि शाश्वतचाहिँ भौतिक जगत् नै हो ।
बौद्ध दर्शनले चेतन (चित्त)को पक्षलाई भौतिक पक्षबाट अलग्याई त्यसको स्वतन्त्र सत्ता हुन सक्ने व्याख्या गर्ने हुनाले सारमा यो आध्यात्मवाद हुन आउँछ । त्यसैले बौद्ध दर्शनलाई नास्तिक एवं अनीश्वरवादी आध्यात्मवादका रुपमा लिन सकिन्छ ।
विश्व ब्रम्हाण्डबारे वैदिक, बौद्ध र आधुनिक विज्ञान
विश्व ब्रम्हाण्डको उत्पत्तिको सवालमा वैदिक, बौद्ध र आधुनिक विज्ञानमा अचम्मको समान सार भेटिन्छ । वैदिक दर्शन आध्यात्मवादी दर्शन हो । बौद्ध दर्शन मध्यमार्गी दर्शन भए पनि सारमा यो पनि आध्यात्मवादी दर्शन नै हो । तर, आधुनिक विज्ञान भौतिक यथार्थको खोजको हेतु विकास भएको छ । यसले आध्यात्मवादसँग भन्दा पनि भौतिकवादसँग साइनो राखेको छ । तर, यिनीहरुबीच विश्व ब्रम्हाण्ड सृष्टिको सवालमा कसरी समान सार हुन सक्छ ? यसबारे हामी यहाँ छोटो चर्चा गरौं ।
- निर्वाण बौद्ध दर्शन र अभ्यासको लक्ष्य हो । निर्वाणको अवस्थामा पुगेपछि तेल सकिएर दियो निभे जस्तै चित्तलाई अनात्मा र शून्यताको वोध भई पुनर्जन्मको प्रक्रिया अन्त्य हुन पुगेको हुन्छ ।
वैदिक दर्शनले यो विश्व ब्रम्हाण्डमा अन्तिम सत्य भनेको ब्रम्ह भएको मान्दछ । यस दर्शनले ब्रम्ह आकारविनाको शाश्वत चिज भएको व्याख्या गर्दछ । त्यसैले ब्रम्ह न कहिले उत्पत्ति भयो न त यो कहिल्यै नष्ट हुन्छ । अर्थात्, ब्रम्ह अनन्तकालदेखि छ र अनन्तकालसम्म रहिरहन्छ । यो अनौत्पत्ति र अविनाशी ब्रम्हबाट नै सम्पूर्ण विश्व ब्रम्हाण्डको उत्पत्ति भयो । यही नै वैदिक दर्शनको मुख्य सार हो । वैदिक दर्शनअन्तर्गत सुरुको उपनिषदमा ब्रम्ह (संस्कृतमा ब्रम्हण) बारे राम्रो व्याख्या गरिएको छ । (स्टेफनफिलिप्स, १९९८)
बौद्ध दर्शनमा निर्वाणलाई शाश्वत सत्यका रुपमा लिइन्छ । त्यस दर्शनअनुसार निर्वाण चित्तको त्यो स्थिति हो, जहाँ क्लेशको समूल विनाश भइसकेको हुन्छ । निर्वाण चित्तमा क्लेशावरण र ज्ञेयावरणको कुनै अंश रहन्न । क्लेशावरणले व्यक्तिको चित्तलाई क्लेशले आवरण प्रदान गरिरहेको भन्ने अर्थ दिन्छ भने ज्ञेयावरणले ज्ञानको आवरण । यी आवरणहरुले पर्दाको रुपमा यथार्थतालाई बुझ्न छेकिराखेको हुन्छ । त्यसैले यथार्थ जस्तो छ त्यसरी बुझ्नका लागि व्यक्तिमा वा चित्तमा ती आवरणहरु हट्नु जरुरी छ । त्यस्तो अवस्थामाप्राप्त ज्ञान वोधि हो र त्यसको प्राप्तिपछि नै व्यक्ति निर्वाणमा पुग्दछ भन्ने धारणा बौद्ध दर्शनको रहेको छ । निर्वाणमा रहेको चित्तराग, मोह र द्वेषबाट पूर्णतः मुक्त भएको हुन्छ । त्यो चित्त सुख र दुःखको स्थितिबाट स्वतन्त्र हुन्छ ।
निर्वाण बौद्ध दर्शन र अभ्यासको लक्ष्य हो । निर्वाणको अवस्थामा पुगेपछि तेल सकिएर दियो निभे जस्तै चित्तलाई अनात्मा र शून्यताको बाेध भई पुनर्जन्मको प्रक्रिया अन्त्य हुन पुगेको हुन्छ । (लोय, डेभिड, १९८२)
भगवान् गौतम बुद्धले निर्वाणको विषयलाई आफ्नो सिद्धान्त प्रतीत्यसमुत्पादमा प्रस्ट रुपमा प्रस्तुत गरेका छन् । त्यस प्रस्तुतिमा उनले अविद्या, तृष्णा, भवः र जन्म–पुनर्जन्मको चक्र कार्यकारणको एक अटूट शृंखलाका रुपमा रहेको चित्र दिएका छन्, जसको परिणामको रुपमा दुःख रहेको हुन्छ । उनका अनुसार यस अटुट शृंखलालाई वोधि प्राप्तिको प्रक्रियाबाट निर्वाण हासिल गरी तोड्न सकिन्छ । त्यसैले निर्वाण शून्यता हो र यो परम सुखको अवस्था पनि हो भनिन्छ ।
ईसाको दोस्राे शताब्दीमा महानबौद्ध आचार्य नागार्जुनले प्रतीत्यसमुत्पादले देखाएको शून्यताको अवधारणालाई विस्तार गरी शून्यताको दर्शन नै सिर्जना गरे । यस दर्शनले शून्यताको अवधारणालाई हरेक वस्तु (धर्म)को व्याख्या गर्नमा लागू गरेको छ । त्यसअनुसार हरेक वस्तुले निःस्वभाव अर्थात् स्वभाव शून्यको चरित्र बोकेको हुन्छ । यसको अर्थ हरेक वस्तुको आफ्नै छुट्टै स्वभाव भन्ने रहेको हुन्न । वस्तुको स्वभाव सापेक्षता र समग्रतामा मात्र प्रकट भएको हुन्छ । वस्तुलाई गहिरिएर र सूक्ष्म तहसम्म दृष्टि पुर्या ई अवलोकन गर्दा त्यो शून्यतामा पुग्दछ । शून्यताको दर्शनको सार यही नै हो ।
उदाहरणका रुपमा एउटा गाडीको स्वभावलाई केलाउँदा त्यसभित्र पाङ्ग्राको एउटा स्वभाव हुन्छ भने बडीको अर्कै हुन्छ, इन्जिनको स्वभाव एउटा हुन्छ भने स्टेरिङको अर्को र अझ त्यसभित्र पनि पस्ने हो भने हरेक पार्टपुर्जाको कण–कणको स्वभाव अलगअलग हुन्छ भने अन्ततः ती कणभित्र पनि नियाल्ने हो भने त्यो केवल तरङ्ग मात्र बाँकी भएको अवस्थामा हाम्रो दृष्टि पुग्दछ । ती कुनै पनि अवयवले गाडीको प्रतिनिधित्व गर्दैन तर सबैको संयोगमा भने गाडीको अस्तित्वको बाेध हाम्रो दिमागमा हुन आउँछ । त्यसैले शून्यताको दर्शनभित्रको सूक्ष्म तहसम्म जाँदा आउने निष्कर्ष के हो भने शून्यता नै शाश्वत सत्य हो ।
आधुनिक विज्ञानको मुख्य खोज भनेको पदार्थको आदि एवं शाश्वत रुपको खोज हो । विज्ञान (science) को सुरु र विकास पश्चिमा जगतमा भयो र अहिले यो संसारकै ज्ञानको आधारभूत स्रोत भएको छ । विज्ञानका तीन प्रमुख शाखाहरु भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञान हुन् । तर, यी तीनमध्ये भौतिक विज्ञान आधारभूत हो । यही भौतिक विज्ञानले पदार्थको आदि एवं शाश्वत रुपको खोज गरेको छ । यही खोजमा नै विश्व ब्रम्हाण्डको सुरुको अवधारणा पनि पर्दछ ।
पश्चिमा दर्शनको इतिहासमा पदार्थको प्राथमिक कणको रुपमा सर्वप्रथम एटम अर्थात् परमाणुको अवधारणा ५औं शताब्दी ईसापूर्वका ग्रिक दार्शनिक डेमोक्रिटसले ल्याएका हुन् । यस्तै प्रकारको अवधारणा ईसापूर्व ६औंदेखि ईसापूर्व दोस्राे शताब्दीबीचको भनी विश्वास गरिएका पूर्वेली दार्शनिक एवं प्राचीन भौतिकशास्त्री कणादले पनि ल्याएको मानिन्छ । तर, यो अवधारणाले ईसाको १९औं शताब्दीको सुरुमा बेलायती रसायनशास्त्री जोन डाल्टनको ‘परमाणु सिद्धान्त’ को प्रतिपादनपछि नै मूर्तता पायो ।
- बिग ब्याङ्गपछि अति विशाल र विराट ऊर्जा पोखरीमा ढुङ्गा खसाल्दा विस्तारित हुने छाल जस्तैगरी चारैतिर फैलियो । त्यही फैलिने क्रममा नै यो ब्रम्हाण्डको विकास भएको हो भन्ने निष्कर्ष ‘बिग ब्याङ्ग सिद्धान्त’ को रहेको छ ।
पछि त्यही सिद्धान्तलाई विस्तार गरी रसायन एवं भौतिकशास्त्रको क्षेत्रमा वैज्ञानिकहरुले ठुल्ठूला खोज अनुसन्धान गरी पदार्थका अति सूक्ष्म अन्य कणहरु पत्ता लगाए । त्यही क्रममा परमाणुभित्र पत्ता लागेका प्रोटोन, न्युट्रोन र इलेक्ट्रोन जस्ता अति सूक्ष्म कणहरुलाई परमाणुका संघटक कणहरु भनी मानिए । तर, सूक्ष्म कणको खोजको क्रम त्यहीँ अन्त्य भएन । खोजकै क्रममा सन् १९६४ मा वैज्ञानिक मुरे गेलमानले प्रोटोन सूक्ष्म कण पनि क्वार्क नामक अन्य सूक्ष्म कणहरुबाट बनेको प्रमाणित गरिदिए ।
सन् १९२४ मा फ्रान्सेली भौतिकशास्त्री लुइस डे ब्रोग्लीले इलेक्ट्रोन कणको दुई प्रकृति भएको पत्ता लगाए । उनका अनुसार इलेक्ट्रोनले कण र तरङ दुवैको व्यवहार गर्दछ ।
पदार्थको प्राथमिक रुपको खोजको क्रममा सन् १९३७ मा अमेरिकी सैद्धान्तिक भौतिकशास्त्री आर्किबाल्ड ह्विलर र सन् १९३४ मा जर्मन सैद्धान्तिक भौतिकशास्त्री वेर्नर हाइजेन्बर्गले ‘तार सिद्धान्त’ (string theory) को अवधारणा अगाडि सारे । यस सिद्धान्तले परमाणुभित्रका अति सूक्ष्म कणको संघटन गितारको तारजस्तै तन्किएर बसेका ऊर्जाका तारहरुबाट भएको हुने अवधारणालाई अगाडि सारेको छ । यो सिद्धान्त अहिले संसारका धेरै भौतिकशास्त्रीहरुले खोज अनुसन्धान गरिरहेको ‘सबथोकको सिद्धान्त’ (theory of everything) को आधार बनेको छ ।
२० औं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन र भर्खरै सन् २०१८ मा बितेका महान वैज्ञानिक स्टेफेन हकिङ दुवैले आ–आफ्ना जीवनका पछिल्ला समयहरु यही सिद्धान्तको खोजमा खर्चेका थिए ।
सबै वस्तुहरु सूक्ष्म चिजहरुको संघटनबाट नै निर्मित हुन् । तर, ती सूक्ष्म चिजहरु के हुन् ? र तिनीहरु कहाँबाट आए ? भौतिक शास्त्रमा यी प्रश्नहरुको समाधानका लागि सूक्ष्म कण वा चिजको खोज मात्र होइन यो विराट ब्रम्हाण्ड (universe) को पनि खोज गर्ने काम भएको छ । यही खोजकै क्रममा खगोल विज्ञान र खगोल भौतिक विज्ञानको जन्म भएको हो ।
- आधुनिक विज्ञानले देखेको शून्यता खुट्टाले टेकेको अवधारणा हो, जसले यथार्थ धरातल (जमिन) वा सत्यलाई देख्दछ ।
खगोल विज्ञानमा सन् १९२९ मा अमेरिकी वैज्ञानिक इडविन पावेल हब्बलले ब्रम्हाण्ड विस्तार भइरहेको तथ्य पत्ता लगाएपछि ब्रम्हाण्ड खोजमा नयाँ आयामको सुरुवात भयो । यही क्रममा नै पछिल्लो समयमा खगोल भौतिकशास्त्रीहरुले खगोलमा ‘कालो प्वाल’ (black hole) भएको तथ्य पत्ता लगाए । ब्रम्हाण्ड विस्तार र ‘कालो प्वाल’को सिद्धान्तको विश्लेषण गरी वैज्ञानिकहरुले ‘बिग ब्याङ्ग सिद्धान्त’ (theory of big bang) को अवधारणा अगाडि सारेका छन् ।
यो सिद्धान्तलाई पदार्थको सूक्ष्मतम र विराट रुपको खोजको मिलनका रुपमा लिइएको छ । यस सिद्धान्त अनुसार यो विश्व ब्रम्हाण्ड सुदूर अतीतको कुनै समयमा सम्पूर्ण रुपमा एउटै असिमित रुपमा खाँदिएर रहेको ऊर्जाको डल्लोभित्र कैद थियो । त्यस्तो असिमित खाँदिएर रहेको पदार्थको स्थितिलाई सिङ्गुलायेरिटी (singularity) भनिन्छ । उनीहरुले ऊर्जारुपी पदार्थ त्यसरी असीमित रुपमा खाँदिनुमा गुरुत्वाकर्षण जिम्मेवार रहेको बताएका छन् । तर, त्यस्तो स्थिति लामो समयसम्म रहिरहन सकेन । असिमित चापले त्यस ऊर्जाको डल्लोलाई विस्फोटनको स्थितिमा पुर् यायो । यसैलाई महाविस्फोटन वा बिग ब्याङ्ग भनिन्छ ।
बिग ब्याङ्गपछि अति विशाल र विराट ऊर्जा पोखरीमा ढुङ्गा खसाल्दा विस्तारित हुने छाल जस्तै गरी चारैतिर फैलियो । त्यही फैलिने क्रममा नै यो ब्रम्हाण्डको विकास भएको हो भन्ने निष्कर्ष ‘बिग ब्याङ्ग सिद्धान्त’ को रहेको छ । गणना गर्दा यो समय आजभन्दा झण्डै साढे १३ अर्ब वर्षपहिले रहेको पत्ता लागेको वैज्ञानिकहरु बताउँछन् । त्यसभन्दा पूर्व के थियो भन्ने सवालमा वैज्ञानिकहरुले केही बताउन सकेका छैनन् । उनीहरुले ‘बिग ब्याङ्ग सिद्धान्त’ लाई ‘शून्यबाट सबथोक’ (everything from nothing) को सिद्धान्तको रुपमा पनि व्याख्या गर्दछन् ।
- सुदूर अतितको ब्रम्हाण्डको शून्य अवस्था पनि पदार्थ नै हो, तार रुपी ऊर्जाको रुप पनि पदार्थ नै हो । प्रकाशको तरङ्गमा न पिण्ड हुन्छ, न त त्यसले कुनै ठाउँ नै ओगट्छ ।
वैदिक दर्शनले शाश्वत अथवा परम सत्यका रुपमा निराकार, निर्गुण ब्रम्हलाई मान्नु र बौद्ध दर्शनले शून्यताको दर्शनलाई अगाडि प्रस्तुत गर्नुमा चेतनलाई प्रधान पक्ष मानिएको छ । दुवै दर्शनमा झण्डै एउटै अवधारणा रहेको छ, त्यो हो शून्यता नै शाश्वत हो । आधुनिक विज्ञान वा भौतिक शास्त्रले पनि ‘शून्यबाट सबथोक’ को सिद्धान्तलाई अघि सारेर वैदिक र बौद्ध दर्शनको आधार अवधारणासँग मिल्ने खोज गरेको छ । यसरी हेर्दा धार्मिक दर्शन र विज्ञान एकै ठाउँमा उभिएको हो कि भन्ने भानहुन सक्छ । तर, त्यस्तो होइन ।
धार्मिक दर्शनभित्रको शून्यता वा परब्रम्हले चेतनालाई शास्वत मान्दछ भने विज्ञानले पदार्थलाई । कसैले के भन्न सक्छ भने बिग ब्याङ्ग र तार सिद्धान्तमा पदार्थ खोइ ? त्यहाँ त केवल ऊर्जा मात्र छ नि ! अनि पदार्थ कसरी शाश्वत हुन सक्छ ? तर, यी प्रश्नहरु पदार्थको पुरानो परिभाषामा आधारित भई बनेका हुन् । पुरानो जमानाको विज्ञानमा पदार्थ भनेपछि पिण्ड भएको र स्थान ओगट्ने वस्तु भनी बुझिन्थ्यो । त्यसअनुसार हाम्रा इन्द्रीयहरुले थाहा पाउन सकिने ठोस, तरल वा ग्याँसरुपी सबै वस्तुहरु पदार्थ हुन् भनी बुझिन्थ्यो ।
तर, यो परिभाषाले मात्र पदार्थलाई चिन्न सकिन्न । वास्तवमा पदार्थ एक दार्शनिक अवधारणा हो । त्यसैले भौतिक शास्त्रको खोजकै आधारमा महान् मार्क्सवादी दार्शनिक एवं सोभियत एवं विश्व समाजवादी क्रान्तिका नायक लेनिनले पदार्थबारे भनेका छन्, 'पदार्थ त्यो हो, जसले हाम्रा इन्द्रीयहरुलाई प्रभावित तुल्याई संवेदन सिर्जना गर्दछ ; पदार्थ भनेको हाम्रो चेतनासम्म यथार्थ सत्य ल्याइपुर्याउने चिज हो ।' (भि.आइ.लेनिन, १९०८, माटेरियलिज्म एन्ड इम्पिरियो क्रिटिसिज्म)
त्यसैले अहिले हाम्रो चेतनाबाट स्वतन्त्र अस्तित्वमा रहेका कुनै पनि रुपको चिज जसलाई मानवको चेतनाले खोज–अनुसन्धान गरी थाहा पाउन सकिन्छ, त्यस्तो चिज सबै नै पदार्थ हुन् भनी बुझ्ने गरिएको छ । यअनुसार सुदूर अतितको ब्रम्हाण्डको शून्य अवस्था पनि पदार्थ नै हो, ताररुपी ऊर्जाको रुप पनि पदार्थ नै हो । प्रकाशको तरङ्गमा न पिण्ड हुन्छ, न त त्यसले कुनै ठाउँ नै ओगट्छ ।
पुरानो परिभाषाअनुसार त त्यो पदार्थ हुन्न । तर, त्यो पदार्थ नै हो । आधुनिक विज्ञान र दर्शनले यही कुरालाई पुष्टि गर्दछ । प्रकाश ऊर्जाको एक रुप हो । त्यसैले ऊर्जा स्वयं पनि पदार्थ हो । महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले E = mc2 सूत्रको आविष्कार गरी द्रव्य (mass) ऊर्जामा र ऊर्जा द्रव्यमा परिणत हुन सक्ने प्रमाणित गरेका छन् । त्यसैले ऊर्जा र द्रव्य दुवै पदार्थका रुपहरु हुन् ।
धार्मिक दर्शनमा व्याख्या भएको शून्यता (ब्रम्हको अवधारणा समेत) चेतनाको शाश्वततामा आधारित अवधारणा हो भने आधुनिक विज्ञानले व्याख्या गरेको शून्यता पदार्थको शाश्वततामा आधारित अवधारणा हो । त्यसैले धार्मिक व्याख्यामा आधारित शून्यता टाउकोले टेकेको अवधारणा हो, जसले धरतीलाई देख्दैन र यथार्थता वा सत्यतालाई बुझाउने गर्दैन । आधुनिक विज्ञानले देखेको शून्यता खुट्टाले टेकेको अवधारणा हो, जसले यथार्थ धरातल (जमिन) वा सत्यलाई देख्दछ । धरतीलाई नदेख्ने भएकोले नै परब्रम्हको अवधारणाले ईश्वर र परम ईश्वरजस्तो अवास्तविक र काल्पनिक विषयलाई जन्माएको हो भने ईश्वरलाई नमान्दा नमान्दै पनि बौद्ध धर्म दर्शनको शून्यताको सिद्धान्तले चित्त वा चेतनालाई भौतिक शरीरभन्दा अलग अस्तित्वमा रहन सक्ने चिजको रुपमा अवास्तविक व्याख्या गर्न पुगेको हो ।
तर, प्राचीन धर्म दर्शनले टाउकोबाट टेक्नु स्वाभाविक थियो । किनकि, अतीतको त्यो समयमा विज्ञानको खोज र अनुसन्धानको सुरु नै भइसकेको थिएन । त्यसैले पदार्थ चेतको विकास हुनु त्यतिखेर असम्भव नै थियो, यद्यपि पूर्वमा भौतिकवादी चारवाक सिद्धान्त वैदिक काल सँगसँगै सुरु भएको देखिन्छ । विज्ञान खोज र अनुसन्धान सुरु अझै धेरै टाढाको विषय भएको त्यस समयमा भौतिकवादी विचार निरीह हुनु स्वाभाविक थियो । तर, चेतन पक्षलाई शाश्वत मानेरै पनि शून्यताको अवधारणा धार्मिक दर्शनहरुमा जसरी विकास भयो, त्यो अत्यन्त अद्भुत किसिमको थियो, जसले तत्कालीन मानव समाजलाई एक निश्चित आकार दिने काम गर्याे ।