राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन र विवेकशिल साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ ।
शुक्रबार राप्रपाका नवनिर्वाचित महामन्त्री धवलशमशेर राणासमेतको उपस्थितिमा लिङ्गदेन र मिश्रबीच भेटवार्ता भएको छ ।
भेटको क्रममा राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको मिश्रले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मिश्रले लिङ्गदेन र राणाप्रति आभारी रहेको बताएका छन् ।
सो क्रममा पार्टी एकताको विषयमा पनि छलफल भएको छ । राणाले भने, ‘हामीबीच समान विचार छ, पार्टी एकताका विषयमा कुराकानी भएको छ ।’ समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरिसकेको छ ।
सो क्रममा मिश्रले आफ्नो राजकाज पुस्तक दुबै जनालाई दिए ।
पछिल्लो समय संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने माग गर्दै आएका मिश्रले राजतन्त्र र हिन्दु राज्यको वकालत गर्दै आएको दल राप्रपाका दुई प्रभावशाली नेतासँग भेट्नुलाई कतिपयले अर्थपूर्ण रुपमा हेरेका छन् ।