नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरू भएको छ ।
आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी–२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू भएको हो ।
बन्द प्रशिक्षणको पहिलो दिन १४ खेलाडी सहभागी भएका छन् भने १६ जना अनुपस्थित छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार पीसीआर परीक्षणलगायत प्रक्रिया बाँकी रहेकाले १६ खेलाडी आज अनुपस्थित भएका हुन् । उनीहरू मंगलबारदेखिको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।
शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशनकुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेशपुलामी मगर र किशोर महतो गरी १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।
आइतबारदेखि सुरु गर्ने भनिएको बन्द प्रशिक्षणलाई १४ खेलाडीले बहिष्कार गरेपछि प्रभावित भएको थियो ।
विवाद
नेपाल क्रिकेट संघ (क्यान) को क्यानको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई कारबाही गर्दै पदमुक्त गर्नुका साथै नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको थियो ।
साथै, अनुशासन उल्लंघन आरोपमा मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्दै २०२२ को सेन्ट्रल कम्ट्रयाक्टमा ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । क्यानको उक्त निर्णयमा असन्तुष्टि जनाउँदै १४ खेलाडीले बन्द प्रशिक्षण बहिष्कार गरेका थिए ।
समाधान
क्यानको निर्णयमा असन्तुष्टि जनाउँदै १४ खेलाडीले बन्द प्रशिक्षण बहिष्कार गरेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द र यसअघिका कप्तान मल्लबीच वार्ता भएको थियो ।
उनीहरूबीच क्यानले अहिलेको अवस्थामा खेलाडीहरुलाई गरेको अनुुासनको कारबाही फिर्ता लिने र कप्तानको रुपमा सन्दीप लामिछाने नै रहने सहमति भएपछि क्रिकेटमा देखिएको विवाद समाधान भएको हो । त्यसपछि सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुन सहमत भएका हुन् ।
घोषित ३० सदस्यीय प्रारम्भिक टिमः सन्दिप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह ।