आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी हुँदा काठमाडौंको एक कन्सल्टेन्सी सञ्चालकले किशोरीलाई बलात्कार गरेको घटनामा सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न गृह मन्त्रालयले प्रतिबद्ध रहेको जनाएको छ।
शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता घटनामा छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको हो।
‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधि सभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता विषयमा शीघ्र छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।’
मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा एसएसपी बसन्त कुँवर, प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन्।
उक्त समितिले काम सुरू गरिसकेकोले अनुसन्धान कार्यमा सहयोग गर्नुहुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ।
मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको भन्दै एक युवतीले बुधबार भिडियो सार्वजनिक गरेकी थिइन्।
ती युवतीले भिडियोमा २०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा एभरेष्ट होटलमा आफूमाथि बलात्कार भएको उल्लेख गरेकी छन्।