सामसङले आफ्नो ग्यालेक्सी ‘एम’ सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी एम थर्टिवान (Galaxy M31) र ग्यालेक्सी एम ट्वान्टिवान (Galaxy M21) नाम दिइएकाे दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हाे।
मिडरेन्ज अन्तर्गतका यी स्मार्टफोनहरु एक अर्कासँग धेरै मिल्दाेजुल्दाे रहेका छन्। हेर्दा उस्तै नै देखिने यी दुबै स्मार्टफोनहरुकाे आन्तरिक डिजाइन पनि प्राय एउटै रहेकाे छ।
डिस्प्ले र पर्फमेन्स
यी दुबै स्मार्टफाेनहरूमा १०८०×२३४० पिक्सेल रिजोलुशन भएको ६.४ इन्चको फुल एचडी प्लस (FHD+) सुपर एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ। स्पीड तथा मल्टीटास्किङकाे लागि यी दुबै स्मार्टफाेनहरूमा सामसङको एक्सनोज ९६११ अक्टा कोर (Exynos 9611 Octa-core) प्रोसेसर चिपसेट दिइएको छ। एन्ड्रोइड १० मा आधारित सामसङको वान युआइ २.० (One UI 2.0) अपरेटिङ सिस्टममा चल्ने यी स्मार्टफाेनहरूमा एआई पावर्ड गेमबुस्टर जस्ता विशेषताहरू रहेका छन्, जसकारण प्रयोगकर्ताले आफूलाइ मनपर्ने गेमहरू खेल्दा यी फाेनहरूले अत्यन्त कम पावर खपत गर्दछन्।
क्यामरा
फोटोग्राफी तथा भिडियाेग्राफीका लागि ग्यालेक्सी एम३१ मा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ। जसमध्ये ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, ८ मेगापिक्सेल अल्ट्रा-वाइड एंगल लेन्स, ५ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको म्याक्रो सेन्सर रहेकाे छ। याे फाेनबाट फोरके भिडियो रेकर्डिङ्ग, हाइपरल्याप्स, स्लोमो तथा सुपर स्टेडि मोडमा भिडियो खिच्न सक्दछ। यसका साथै यसमा भएको नाइट मोडले अँध्यारोमा पनि उत्कृष्ट फोटो तथा भिडियो खिच्न मद्दत गर्दछ। सेल्फीकाे लागि यसकाे फ्रन्टमा ३२ मेगापिक्सेलको क्यामरा रहेको छ। यसमा पनि फोरके भिडियो रेकर्डिङ्ग तथा स्लोमो सेल्फी फिचर्स रहेकाे छ।
त्यस्तै ग्यालेक्सी एम२१ मा भने तीन रियर क्यामरा सेटअप रहेकाे छ। जसमध्ये एफ २.० अपर्चर सहितकाे ४८ मेगापिक्सेलको प्राइमरी क्यामरा, १२३ डिग्री फिल्ड अफ भ्यु (123º FOV) सहितकाे ८ मेगापिक्सेलकाे अल्ट्रा-वाइड एंगल लेन्स र ५ मेगापिक्सेलको डेप्थ सेन्सर रहेकाे छ। जसले कुनै पनि बस्तुको तस्विर स्पष्ट, सफा तथा आकर्षक खिच्न सकिने बताइएको छ। यसमा रहेकाे ८ मेगापिक्सेलकाे अल्ट्रा-वाइड एंगल लेन्सले सहजै रुपमा ठूलो तथा स्पष्ट तस्विरहरु लिन सहयाेग गर्दछ। यसका साथै यसमा भएको नाइट मोडले कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटो तथा भिडियो खिच्न सकिने छ। याे बाहेक सेल्फीकाे लागि यसकाे फ्रन्टमा २० मेगापिक्सेलको क्यामरा रहेको छ।
फिंगरप्रिन्ट सेन्सर
यी दुबै स्मार्टफाेनहरूकाे पछाडि भागमा फिंगरप्रिन्ट सेन्सर दिइएकाे छ, जसले फोनको सेक्यूरीटि सिस्टमलाई अझ बढी बलियो बनाएको छ।
ब्याट्री
यी दुबै स्मार्टफाेनहरूमा ६००० एमएएच (6,000mAh) काे ब्याट्री राखिएको छ। १५ वाट (15W) काे फास्ट चार्जिङ सिस्टमका साथ आएका यी स्मार्टफोनहरू ब्याट्रीकाे ममिलामा भने अत्यन्त उत्कृष्ट मानिएका छन्। शक्तिशाली क्षमताको ब्याट्री भएकै कारण यी स्मार्टफोनले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्ने कम्पनीकाे भनाइ छ। सहजै हातमा अटिने यी स्मार्टफोनहरूकाे डायमेन्शन ६.२६x २.९६x०.३५ इन्च रहेकाे छ। ग्यालेक्सी एम ३१ काे ताैल १९१ ग्राम रहेकाे छ भने ग्यालेक्सी एम २१ काे ताैल १८८ ग्राम अर्थात एम ३१ भन्दा ३ ग्राम हलुकाे रहेकाे छ।
स्टोरेज
कम्पनीले ग्यालेक्सी एम३१, ६ जीबी र्याम+१२८जीबी स्टोरेज र ८ जीबी र्याम+१२८जीबी स्टोरेज गरि दुइ भेरिएन्टमा लन्च गरेकाे छ भने ग्यालेक्सी एम२१, ४ जीबी र्याम+६४ जीबी स्टोरेज र ६ जीबी र्याम+१२८ जीबी स्टोरेज गरि याे पनि दुइ वटै भेरिएन्टमा लन्च भएकाे छ। यी फाेनहरूकाे स्टोरेज माइक्राे एसडी कार्ड (microSD card) काे माध्यमबाट ५१५ जीबीसम्म बढान सकिने कम्पनीले बताएकाे छ।
कलर अप्शन
कम्पनीले ग्यालेक्सी एम३१ Ocean Blue, Space Black र Red गरी तीन कलर अप्शन्समा उपलब्ध गराएकाे छ भने ग्यालेक्सी एम२१ Raven Black र Midnight Blue गरी दुइ कलर अप्शन्समा उपलब्ध गराएकाे छ।
अन्य फिचर्स
यी दुबै स्मार्टफाेनहरूमा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट सहित ३.५ एमएम (3.5mm) काे हेडफोन ज्याक, फाेरजी एलटीई (4G LTE), डुअल सिम (Nano), ब्लूटूथ भर्सन ५.०, वाई-फाई ८०२.११, जीपीएस / ए-जीपीएस (GPS/A-GPS) आदि जस्ता फिचरहरू समावेश छन्।
मूल्य
ग्यालेक्सी एम३१ को ६ जीबी र्याम+१२८जीबी स्टोरेज भेरिएन्टकाे मूल्य ३० हजार ९ सय ९९ रुपैयाँ र ८ जीबी र्याम+१२८जीबी स्टोरेज भेरिएन्टकाे मूल्य ३५ हजार ६ सय ९९ रुपैयाँ निर्धारण गरिएकाे छ।
त्यस्तै ग्यालेक्सी एम२१ काे ४ जीबी र्याम+६४जीबी स्टोरेज भेरिएन्टकाे मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ र अर्काे ६ जीबी र्याम+१२८जीबी स्टोरेज भेरिएन्टकाे मूल्य २७ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ। कम्पनीकाे अनुसार यी स्मार्टफाेनहरू नेपालभरका सामसङ ब्राण्डसप, सामसङ इ-स्टोर तथा रिटेल स्टोरहरुबाट समेत खरिद गर्न सकिने छ।