एजेन्सी- माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताका नयाँ फिचर ल्याएको छ। कम्पनीले हालै ‘भ्वाइस ट्वीट’ (Voice Tweet) नामक नयाँ फिचर सार्वजनिक गरेको हो। याेसँगै अब ट्वीटरमा भ्वाईस रेकर्ड गरेर अडियो ट्विट गर्न सकिने छ।
यद्यपी ट्वीटरले यो फिचर हालसम्म सबै प्रयोगकर्ताका लागि भने उपलब्ध गराइसकेकाे छैन्। कम्पनीले यो सुविधा तत्कालका लागि केहि आईओएस अर्थात एप्पल डीभाइस प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराएको छ। शुरुवातमा लिमिटेड यूजर्स वा सीमित प्रयोगकर्ताहरुको लागी मात्र उपलब्ध गराइएकाे याे फिचर केही समय पछि भने सम्पूर्ण आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।
याे नयाँ अपडेटबारे जानकारी कम्पनीले बुधबार आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमार्फत सार्वजनिक गरेको हाे।
भ्वाइस ट्वीट फिचर प्रयोग गर्ने तरिका टेक्स्ट ट्वीट गरे जस्तै रहेकाे छ। यसको लागि ट्वीटरले ट्वीट कम्पाेजरकाे तल्लाे भागमा एक ‘अडियोवेभफर्म’ आइकन उपलब्ध गराएको छ। जसमा क्लिक गरि प्रयाेगकर्ताले आवाजमा रेकर्ड गरेर भ्वाइस ट्वीट गर्न सक्ने छन्।
कम्पनीकाे अनुसार प्रत्येक भ्वाइस ट्वीटमा १४० सेकेन्डको अडियो रेकर्ड हुन्छ। यदि त्याे भन्दा धेरै समय अवधिकाे ट्वीट गर्नु परेमा निरन्तर बोलिरहनु पर्नेछ। भ्वाइस ट्वीटको सीमा सकिसकेपछि, नयाँ भ्वाइस ट्विट शुरू हुनेछ। कम्पनीले शेयर गरेकाे भिडियाे अनुसार भ्वाइस ट्वीट्स ट्विटरको फिडमा टेक्स्ट ट्वीट्सको रूपमा नै देखा पर्नेछ।