प्रतिनिध सभा बैठक सुरु भएको छ । बैठकमा सरकारले एमसीसी परियोजना संसदमा पेश गर्ने तयारी गरेको छ ।
बैठकमा एमालेले अवरोध कायमै राखेको छ ।
सत्ता गठबन्धनको आइतबार बसेको बैठकले एमसीसी परियोजना संसदमा पेश गर्ने निर्णय गरेको थियो ।
परियोजना संसदमा पेश गर्ने तयारी गरेसँगै संसद् भवन बानेश्वरमा प्रदर्शन भइरहेको छ । एमसीसी खारेज गर्नुपर्ने माग गर्दै सत्तारुढ दलकै भातृ संगठनदेखि सर्वसाधारण बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । यस्तै प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेका छन् ।
नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।
सरकारले बानेश्वरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । एमसीसीलाई लिएर लामो समयदेखि विरोध तथा प्रदर्शन हुँदै आएको छ ।