सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सोमबार जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो।
गत बुधबार पीडित युवतीले टिकटकमार्फत ८ वर्षअघि आफूलाई मिस ग्लोबल नामक ब्युटी प्याजेन्ट नामक सौन्दर्य प्रतियोगिताका आयोजक तथा ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर काठमाडौंको एभरेष्ट होटलमा बलात्कार गरेको खुलासा गरेकी थिइन्।
उनले भिडियोमा खुलाएअनुसार मिस ग्लोबल नामक ब्युटी प्याजेन्ट सकिएपछि सक्सेस पार्टीमा उनीमाथि बलात्कार भएको हो। उनले भनेकी छन्ः
मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाए। म त्यहाँ पुग्दा कोही थिएनन्। किन कोही नभएको भनेर सोध्दा पाण्डेले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच–छ बजेबाट पार्टी सुरू हुन्छ’ भने। एकछिन बसेपछि मलाई ’लेमोनेड’ खान दिए।
लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लागे। तर, पाण्डेले अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे। यसपछि मलाई राम्ररी होस छैन। होसमा आउँदा पाण्डेले मलाई बलात्कार गरिरहेका हुन्थे।
बिहान घर जाने बेलामा पाण्डेले ‘यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु’ भनेर धम्क्याए। उनलै ट्याक्सी बोलाएर मलाई घर पठाए। झोलामा २० हजार रुपैयाँ राख्यो। म त्यति बेला आफू १६ वर्षकी थिए। पाण्डेले त्यसपछि छ महिनासम्म मलाई बलात्कार गरे।
म ६ महिनापछि खड्का थरका आफ्ना साथीको सहयोगमा पाण्डेको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बतायौं। पाण्डेले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाए। आफ्ना साथीले पाण्डेलाई कुटपिट गरे। उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाए।
यसअघि आइतबार पनि एक नाबालिगले आफूमाथि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं परिसरमा जाहेरी दिएकी थिइन्।
बलात्कार घटनामा आफ्नो नाम पनि मुछिएपछि मिस नेपाल २००२ माल्भिका सुब्बा तनावमा परेकी छन्।
घटना सार्वजनिकपछि बलात्कार आरोपी पाण्डेले ३–४ दिनमा सबै कुराको खुलासा गर्ने बताएका थिए । तर, उनी त्यसअघि नै पक्राउ परे।
पाण्डेलाई कारवाही र बलात्कृत भएकी युवतीको न्याय माग्दै वालुवाटारमा धर्ना दिइएको थियो ।
साथै, संसद बैठकमा सांसद गगन थापाले माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले घटनाको छानबिन गर्न सरकारलाई रुलिङ गरेका थिए।
त्यसपछि सरकारले छानविन समिति बनाएर उक्त घटनाको अनुसन्धान गरिरहेको छ।