१.लकडाउनको अवधि ८ दिन थपियो
सरकारले लकडाउनको अवधि थप गरेको छ। कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले अझ कडाइका साथ पालना गराउने भन्दै लकडाउनको अवधि लम्ब्याएको हो। मन्त्रीपरिषदको आज बसेको बैठकले लकडाउन ८ दिन थप्दै कडाइका साथ पालना गराउने निर्णय लिएको हो। नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले चैत ११ गते एक साताका लागि लकडाउनको घोषणा गरेको थियो। १८ गते सम्मका लागि तोकिएको लकडाउन पुनः एक साता थप गर्दै २५ गतेसम्म लम्ब्याइएको थियो।
२.सरकारद्वारा महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त
सरकारले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीलाई गभर्नर नियुक्त गरेको छ। मन्त्रीपरिषद्को आज बसेको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। यसअघि गभर्नर रहेका चिरञ्जीवी नेपालको कार्यकाल गत फागुन ५ गते सकिएपछि गभर्नर पद रिक्त थियो। रिक्त गर्भनर पदका लागि अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले ३ जनाको नाम सिफारिस गरेको थियो।
३.लकडाउनमा ह्याण्ड स्यानिटाइजरको कालोबजारी
कोरोनाभाइरसले निम्त्याएको महामारीसँगै बजारमा कालाबजारी पनि बढेको छ। शुरुआतको समयमा कोरोनाभाइरस रोकथामका लागि प्रयोग हुने मास्कको कृत्रिम अभाव सृजना गरेर कालोबजारी हुँदै आएकोमा अहिले ‘ह्याण्ड स्यानिटाइजर’मा पनि कालोबजारी शुरु भएको छ। कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठनले नै ‘ह्याण्ड स्यानिटाइजर’को प्रयोग गर्न सुझाव दिएपछि बजारमा ‘ह्याण्ड स्यानिटाइजर’को किनवेच व्यापक बढ्यो। यतीसम्म कि बजारमा ‘ह्याण्ड स्यानिटाइजर’ को अभाव नै भयो। यहि मौका छोपेर व्यापारीहरुले स्वभाविकभन्दा बढी मुल्यमा ‘ह्याण्ड स्यानिटाइजर’को विक्रिवितरण गर्न थाले।
४.रौतहटमा वन सुरक्षा टोली र तस्कर समूहबीच भिडन्त
रौतहटमा वन सुरक्षा गस्तीटोली र तस्कर समूहबीच गोली हानाहान भएको छ। गुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र आइतबार साँझ उनीहरुबिच दोहरो गोली हानाहान भएको हो। गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो।
५ं‘एजेन्ट’लाई कसिमन नदिन निगमलाई पर्यटनमन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन निगम नेतृत्वलाई निर्देशन दिएका छन्। अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ७४ नागरिकलाई स्वदेश लैजानका लागि चैत १९ गते गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टका रुपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसन बापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगमलाई निर्देशन दिएका हुन्।
६.सडकमा गुड्ने सवारी साधनमाथि ट्राफिक माहाशाखाले बढायो निगरानी
लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि ट्राफिक प्रहरीले सडकमा गुड्ने सवारी साधनमाथी निगरानी बढाएको छ। यससँगै ट्राफिक प्रहरीले ति सवारी साधनहरुको बिवरण संकलनकार्य पनि शुरु गरेको छ। महानगरीय ट्राफिक प्रहरी माहाशाखाको अगुवाईमा ट्राफिकले काठमाडौंका विभिन्न स्थानबाट हाल गुडिरहेका सवारीहरुको बिवरण संकलन गर्न लागेको हो। उपत्यकाको कोटेश्वर, थापाथली, महाराजगञ्ज र केशरमहलबाट बिवरण संकलन भइरहेको छ।
७.डोटीमा गोली हानी महिलाको हत्या
डोटी जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ। उनको आइतबार राति गोली हानी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए। उनले भने, “म घटनास्थलमा आफैँ खटिएको छु, कसले गोली हानेको हो भन्ने प्रमाणित भएको छैन, अनुसन्धानपछि सबै कुरो खुल्नेछ।”
८.कोरोना विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक छः मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग उपलब्ध भइरहेको बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताएका हुन्। “कोरोना महामारी विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ”, उनले भने, “हामी सबै यस अभियानमा जुट्नुपर्छ ।” रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए।
९.विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान
नेपाल शैक्षिक परामर्श सङ्घ ९इक्यान० ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ। उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्न थालेपछि इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्न ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’ को शुरुवात गरेको हो।