कर्णाली प्रदेशको वर्तमान सरकार ढल्ला ढल्ला जस्तो भएर अहिले फेरि थामिएको छ । डबल नेकपा भित्रको मिलिसक्यो भनिएको विवाद मिलिसकेको छैन भन्ने कर्णालीले देखायो । आफ्नै पार्टीको सरकार ढाल्ने यो खेलले स्पष्ट पार्यो, सत्तामा भएकाको ध्याउन्न कसरी सत्ता टिकाउने अनि सत्ताबाहिर हुनेको ध्याउन्न कसरी सत्तामा जाने भन्नेमा बाहेक अन्त कतै छैन ।
कर्णाली सरकार तीन वर्षको पुगिसक्दा पनि तत्कालिन अवस्थामा मुख्यमन्त्री हुन नपाएका एमाले नेता यामलाल कँणेलको यसै संसद अवधिमा मुख्यमन्त्री बन्ने चाहना मरिसकेको रहेनछ भन्ने स्पस्ट देखिएको छ । तर कँणेलको लोभमाथि कसले खेल्यो र कसले उनलाई आफ्नो शक्ति मोलमोलाइको मोहरा बनायो लुकेकै चाहिँ पक्कै पनि छैन ।
- केपी ओलीको विरोधमा पूरै माधव नेपालको पक्षमा पनि हुन नसकिरहेका प्रचण्डलाई नेपालले समेत उनको साथ छाडेको झल्को कर्णालीको समीकरणमा देखियो ।
यता मन्त्रीमण्डल पुनर्गठनको कुरा चलिरहँदा अनि अर्थमन्त्रीका दावेदार विभिन्न व्यक्तिहरू देखिँदा अचानक देखिएको कर्णालीको तरंगले डबल नेकपाभित्रका इतरपक्षका नेताहरू झस्किए । सोच्दै नसोचेको अवस्था आउँदा उनीहरू तरंगित भएर तत्काल केही कदम चाल्न नसक्ने गरी अलमलमा परे । गठबन्धन पनि केन्द्रको भन्दा नितान्त विपरित बन्यो । केन्द्रमा प्रमुख विपक्षी देखिएका माधव नेपाल र केपी ओली खेमा कर्णालीमा एकै ठाउँमा देखिए । अझ प्रचण्ड पक्षका केही नेतालाई समेत आफ्नो पोल्टामा पारेर ।
प्रचण्डको लागि यो अप्रत्यासित झट्का थियो । केपी ओलीको विरोधमा पूरै माधव नेपालको पक्षमा पनि हुन नसकिरहेका प्रचण्डलाई नेपालले समेत उनको साथ छाडेको झल्को कर्णालीको समीकरणमा देखियो । न पूरै यताको न पूरै उताको हुन सकेका प्रचण्डलाई नयाँ संसदीय राजनीति युद्ध हाँक्नु भन्दा निकै कठिन पक्कै पनि लागेको हुनुपर्छ ।
सैन्य बलमा निर्णय गरेर लागू गराइरहेका प्रचण्डलाई कहिले कसको दुलो, कहिले कसको दुलो पसेर अनेक खुराफात गर्ने अनि आफूसँग खुराफातमा सामेल मतियार केही समयपछि अर्को दुलोमा पसेर आफ्नैविरुद्ध खुराफात गरिहेको भेटिने स्थिति कम तनाव दिने खालको पक्कै छैन होला ।
केन्द्रको शक्ति संचयको प्रयास संसदीय व्यवस्थामा कता–कतासम्म पुग्न सक्दो रहेछ भनेर प्रचण्डले कर्णालीमा प्रष्ट हेरे ।
- अर्थमन्त्रीका दावेदार वामदेव गौतम र माधव नेपालको धापसहित अर्थमन्त्री मै बन्छु भन्दै हिँडेका सुरेन्द्र पाण्डेलाई ओलीले क्लिन बोल्ड गरेका छन् ।
जोडिएको नेकपा यदि चोइटियो भने तत्कालिन एमालेको धेरै मनिसलाई आपूmसँग लिएर प्रचण्ड बाहिरिन्छन् भन्ने कुनै बेलाको आम आँकलनको ठिक विपरित दृश्य कर्णालीमा देखियो । प्रचण्ड अलगिनै पर्ने स्थिति आयो भने पूर्व एमालेका केही नेता प्रचण्डतिर जानु त के प्रचण्डकै केहीचाहिँ एमालेमा छुट्छन् भन्ने पो संकेत देखियो । यस्को झल्को केही पहिले केन्द्रमा पनि देखिएकै हो । रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टका रूपमा । स्थायी समितिमा बादल प्रचण्डका पछाडि दह्रोेसँग उभिएका देखिएनन् । मन्त्री रहेका भट्टले पनि प्रचण्डको प्रतिपक्षमा रहेका प्रधानमन्त्री ओलीको समर्थनमा लगातार अभिव्यक्ति दिइरहे । जुन कुनै बेला प्रचण्डका सबैभन्दा विश्वासपात्र भनिएका भट्टको सन्दर्भमा स्वभाविक थिएन ।
यसपटक कर्णालीका सन्दर्भमा माधव नेपालले प्रचण्डको काँध फेरि थामे । अब प्रचण्ड दह्रोसँग माधव नेपालको पछाडि उभिएलान् त ?
उभिन त प्रचण्ड तयार होलान् । तर प्रचण्डलाई पनि शंका छ माधव नेपाल दह्रोसँग उभिइरहन्छन् कि रहँदैनन् । कतै माधव नेपालले खुट्टा छोडे भने फेरी आफूमात्र एक्लै पो परिने हो कि ? प्रष्ट छ– नेकपाभित्र कसैले कसैलाई भरोसा गर्न सक्ने अवस्था छैन । हरेकले हरेकलाई शंकाको दृष्टिले हेरेका छन् । अनि सबैको एउटै चिन्ता छ आफ्नो अस्तित्व बचाइरहने ।
माधव नेपाल र प्रचण्ड पार्टी भित्र बलियो गरी अस्तित्व कायम गर्ने प्रयासमा रहँदा केपी ओलीलाई भने फाइदा भएको छ । उनको सरकारमाथि मडारिएको कालो बादल अहिले छाँटिएको छ । तर डर भने यथावत छँदैछ । पार्टी फोड्नेसम्मको धम्की दिएर आफ्नो पकड जोगाएका ओलीले अहिले कर्णाली प्रकरणबाट फेरि एकपटक पार्टी भित्रका आप्mना प्रतिपक्षीलाई झस्काएका छन् ।
कर्णाली प्रकरणमा पार्टीका नेतालाई ब्याक फुटमा पारिरहँदा ओलीले केन्द्रमा चाहिँ छक्का हानेका छन् । अर्थमन्त्रीका दावेदार वामदेव गौतम र माधव नेपालको धापसहित अर्थमन्त्री मै बन्छु भन्दै हिँडेका सुरेन्द्र पाण्डेलाई ओलीले क्लिन बोल्ड गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी देउखुरी बनाएर शंकर पोखरेलको दह्रो साथ कमाएका ओलीले विष्णु पौडेललाई समेत अनुग्रहित पारेका छन् । कर्णालीमा झस्किएका पार्टीभित्रका प्रतिपक्षी दर्शकदिर्घामा सिमित रहे ।
- हामी कहाँ वामपन्थी भनिएको सरकारको बाटो पनि दुरुस्त उस्तै छ । केही फरक देखिँदैन । कोरोनाको कहरकाबीच देशको केन्द्रमा कलाविहीन नाटक चलेको छ ।
तर अर्को शंका छ । मञ्चमा देखिएका ओलीले यति धेरै चाल चलिरहेको होलान् त ? उनका सार्वजनिक अभिव्यक्ति हेर्दा पत्याइहाल्न पनि गाह्रो छ । चेसमा जस्तो लगातार एकपछि अर्को चेक दिने चालहरू आइरहेका छन् । बढिजसो ओलीलाई नै चेक आएको छ । अर्को पक्षले पनि बेला–बेलामा गज्जबका चालहरू बनाएर चेक दिन्छ, झण्डै मात गर्न लागेको जस्तो । तर अहिलेसम्म मात कसैले गर्न सकेका छैनन् । चेसमा अन्तिम युद्ध चलेको छ । एक पछि अर्को घघडान चालहरू आउँदैछन् । कसले कसलाई मात गर्ने हो प्रत्येक दिन कौतुहलको दिन बनेको छ । कुन बेला कहिले के हुने हो सँधै चनाखो भएर बस्नुपर्ने ।
अहिले एकपटक फेरि ओली हावी भएका छन् । यसबीच पार्टीको लडाईंमा कोरोना कहरको प्रभाव कता हरायो कता ? आम जनताको ज्यान जाने गति बढिरहेको छ । संक्रमित जताततै भेटिन्छन् । परीक्षणको दायरा र संक्रमितको संख्या हेर्दा स्थिति भयावह छ भन्ने स्पष्ट देखिन्छ । पछिल्ला अध्ययनहरूले देखाएको छ– कोरोनाको प्रभाव दूरगामी छ । संक्रमित व्यक्तिको स्वास्थ्यमा होस्, समाजमा होस् वा अर्थतन्त्रमा होस् ।
यो कहरसँग जुध्न विश्व प्रयासरत छ । केही दक्षिणपन्थी विश्व नेताहरू भने राष्ट्रवाद वा सम्प्रदायको नाममा जनताको ध्यान मोड्न लागि परेका छन् र केही हदसम्म सफल भएका छन् । हामी कहाँ वामपन्थी भनिएको सरकारको बाटो पनि दुरुस्त उस्तै छ । केही फरक देखिँदैन । कोरोनाको कहरकाबीच देशको केन्द्रमा कलाविहीन नाटक चलेको छ ।
तर ओलीलाई अघि सारेर यी सबै चाल अरू कसैले चालेका त छैनन् ? ओलीको नाममा सत्ता कसले चलाएको छ ? शंका त गर्न पाइयो नि ! परिस्थितिले शंका गर्न बाध्य बनाएको छ । नेपथ्यको निर्देशक को होला ?