मुक्तक – १
भित्र खोक्रो, बाहिर बोक्रो देखाइदियो कोरोनाले
केही नभाको रित्तो टोक्रो देखाइदियो कोरोनाले
हतियारको होडबाजीमा मै हुँ भन्ने मान्छेलाई नै
जिन्दगीकै अन्तिम कोक्रो देखाइदियो कोरोनाले ।
मुक्तक – २
इनार, कुवा, ढुङ्गेधारा हराउँदै गएका छन्
अर्म–पर्म, बेठी, झारा हराउँदै गएका छन्
पानी माग्दा मोही दिने कस्तो हार्दिकता थियो
हाम्रो आफ्नै गाउँले पारा हराउँदै गएका छन् ।
– मिलन समीर
करादीखोला, स्याङ्जा
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: