साहित्य भन्नु केवल अनुभूतिहरूको संवेग मात्रै होइन, त्यसलाई कलात्मक र काव्यात्मक ढङ्गबाट प्रस्तुत गर्न पनि हो । साहित्यका अनेक विधाहरू छन्, त्यसमध्य कविता विधाको पनि उप विधा मानिने मुक्तक हिजोआज अत्यन्त लोकप्रिय बन्दै गएको छ ।
पहिला टुक्रा कविताको रूपमा लिइए पनि अहिले मुक्तकले पाएको व्यापक लोकप्रियताको कारण एकापट्टी यसबारे खोजीनिती र चासो राख्नेहरूको एउटा ठूलै जमात खडा भएको छ । अर्कोपट्टी गजÞलरकविता लेख्नेहरू भने यसलाई अचारको रूपमा परिभाषित गर्ने गर्छन् । मुक्तकलाई गजल र कविता भन्दा तल राखेर हेर्नेहरू पनि उनै हुन् जसले हरेक कविता समारोह र गजल मुशायरामा आफ्नो रचना (मेन डीस) सुनाउनु अघि एउटा मुक्तक (अचार) सुनाउने गर्छन् । अर्थात् खानु अघि नै पहिला अचार चाट्छन् ।
तर कतिपय कवि तथा गजलकारहरू यस्ता पनि छन्, जसले मुक्तक लेखनलाई आफूले न्याय गर्न नसकेकोले मुक्तक लेख्न धक लाग्ने कुरा स्पष्ट बताउँछन् । जे जस्तो रूपमा परिभाषित गरिए पनि चार हरफको मुक्तक आफैंमा एउटा महाकाव्य, उपन्यास वा सिङ्गो कथाको भाव वहन गर्न सक्ने विधा हो, यसमा कुनै शङ्का छैन ।
- चार हरफमध्ये पहिलोले विषयको उठान, दोश्रोले समर्थन, तेश्रोले कौतुहलता उत्पन्न गर्दै चौथोले अत्यन्त नाटकीय पारामा चोटिलो झटारो हानेर पूर्णता दिने काम गरेको हुन्छ । अर्थात् ठोस र सारयुक्त कथ्य समेटेको हुन्छ ।
‘मुक्तक’ शब्द खासमा संस्कृतबाट आएको भए तापनि बारौं शताब्दीतिरका फारसी कवि उमर खैय्यामका ‘रुबाइ’लाई फिट्जेराल्डले अँग्रेजीमा अनुवाद गरेपछि विश्वप्रसिद्ध हुन पुगेको हो । अहिले हामी कहाँ लेखिने मुक्तक यिनै शैलीको अनुकरण हो । संरचनागत हिसाबले अहिले लेखिंदै आएको रुबाइयत शैलीको चतुश्पदीय मुक्तकलाई काव्यको लघुत्तम उपविधा मानिन्छ ।
चार हरफ मध्य तेश्रो हरफ अनुप्रास विहिन रही बाँकीका तीन हरफ अनुप्रासयुक्त पद्यात्मक चतुष्पदीय रचना नै मुक्तक हो । तर मुक्तक, संस्कृत साहित्यको पौराणिक ग्रन्थहरु वेद, पुराण हुँदै नेपाली साहित्यमा करिब २ सय ४० वर्ष अघिको शक्तिबल्लभ अर्ज्यालको ‘तनहुँ भकुण्डो’ बाट पृष्ठभूमी तयार हुँदै भानुभक्त आचार्य, मोतीराम भट्ट हुँदै क्रमशः वि. सं. २०१० तिर भीमदर्शन रोक्काबाट आधुनिक कालको उठान भएको पाइन्छ ।
६० को दशकसम्म पनि कुनै ठोस आकार नपाएको मुक्तकले २०७० सालमा ‘नेपाल मुक्तक प्रतिष्ठान’ तथा ‘मुक्तक मञ्च पोखरा’को सहआयोजनामा भएको ३ दिने अन्तरविमर्श कार्यशाला गोष्ठीबाट नयाँ बाटो समात्यो । गोष्ठीले मुक्तक सम्बन्धि ५ बूंदे घोषणापत्र जारी गरेपछि यसको स्वरूपमा आएका विवादहरू टुंगिएको मान्न सकिन्छ । त्यसअघिसम्म मुक्तक भनेर ३ देखि ५ र ७ हरफसम्म लेखिएको पनि भेटिन्थ्यो । त्यो युगदेखि अहिलेको युगसम्म आईपुग्दा मुक्तकको स्वरूपमा निरन्तर परिवर्तन हुँदै आएको तथ्य पनि छ ।
अहिले चार हरफ चट्ट मिलेको आयताकार मुक्तकले कुनै एउटा विशेष बिषयमा मात्र बोलेको हुनुपर्ने र सबै हरफहरू एकआपसमा अन्तरसम्बन्धित हुनुपर्ने यसको नियम छ । चार हरफमध्ये पहिलोले विषयको उठान, दोश्रोले समर्थन, तेश्रोले कौतुहलता उत्पन्न गर्दै चौथोले अत्यन्त नाटकीय पारामा चोटिलो झटारो हानेर पूर्णता दिने काम गरेको हुन्छ । अर्थात् ठोस र सारयुक्त कथ्य समेटेको हुन्छ ।
- चार हरफमा एउटा सिङ्गो कथनलाई टुंग्याउनु चुनौतीपूर्ण कार्य हो । मुक्तक, गागरमा सागर बिन्दुमा सिन्धु अटाउने कला हो ।
त्यसैगरी मुक्तकमा मिठास भर्न कलात्मक ढङ्गबाट सन्दर्भ अनुसारको भाषाशैली प्रयोग गरेर बिम्ब, प्रतीक आदिको सहयोगले आफ्नो अभिव्यक्ति व्यक्त गर्न सकिन्छ । कलात्मक र काव्यात्मक ढङ्गबाट भन्दा मीठो र चित्ताकर्षक पनि हुन्छ ।
देशको प्रतिकूल परिस्थितिको कारण जीवन–यापनको चुनौतीलाई स्वीकारेर आफ्नो घर--आँगन छोडेर बाध्यताबस परदेशिएका नेपालीहरूको नजिकको साथी भन्नु नै साहित्य भएको छ । परदेशमा छँदाको अनुभूतिहरु, आफ्ना पीडाहरूलाई प्रस्फुट गर्ने माध्यम साहित्य नै भएको छ । त्यसैले पनि होला साहित्य सञ्चारको सबैभन्दा सजिलो माध्यम बनेको फेसबुकमा सबैभन्दा धेरै लेखिने विधा शायद मुक्तक नै छ । तर त्यसो भन्दैमा मुक्तक लेख्न सजिलो छ, नठानौं ।
चार हरफमा एउटा सिङ्गो कथनलाई टुंग्याउनु चुनौतीपूर्ण कार्य हो । मुक्तक, गागरमा सागर बिन्दुमा सिन्धु अटाउने कला हो । अर्थात् थोरै शब्दमा विशाल भाव बहन गर्ने क्षमता मुक्तकले राखेको हुन्छ । त्यसैले देख्दा सजिलो लेख्दा दुष्कर छ मुक्तक लेखन । अनुप्रासयुक्त चार हरफ हुँदैमा मात्रै मुक्तक बन्दैन । मुक्तकमा गहिराइयुक्त भाव हुन जरूरी छ । र, मुक्तकका हरेक हरफहरु बीच अन्तरसम्बन्ध रही स्वयममा पूर्ण, सघन भाव सहितको तीव्रता, विषय निरपेक्ष तथा प्रभावोत्पादक हुनुपर्दछ । जे होस्, यतिबेला नेपाली मुक्तक उर्बर कालमा छ । अर्काइभबाट
नेपाली पब्लिकको थप विशेष साहित्यिक प्रस्तुती: