मुक्तक – १
ज्यूँदो नारीको बली चढाई दुर्गा र लक्ष्मी ढोग्ने मान्छे
चिम्टी सिन्दूरको आडमा असंख्य यौवन भोग्ने मान्छे
खोक्रो मर्यादाको दम्भसँगै, यो सृष्टिको आरम्भसँगै
भोगनीय हुँ ढोगनीय छु, निर्लज्ज ! म लोग्ने मान्छे ।
मुक्तक – २
बुझेरै पनि अविज्ञ बन्छ, लाचार भै कर्मसँग हार्छ मान्छे
अपराजित बन्छ अरू सामु, आफ्नै मर्मसँग हार्छ मान्छे
आफ्नै मनको कुरुक्षेत्रमा उभिनुपर्छ कहिले भीष्म बनेर
धर्मले शर्म नछोडे पनि, कर्मले अधर्मसँग हार्छ मान्छे !
मुक्तक – ३
तिम्रा भजन सब बेकार छन्, तिम्रै भगवानसम्म नपुगे
मुर्दाको पनि कहाँ सदगती हुन्छ ? चिहानसम्म नपुगे
पहिला मेरो ‘चासो’ को लायक बन्नू, अनि कुरा काट्नू
नत्र व्यर्थ होलान् काटेका कुरा, मेरै कानसम्म नपुगे !
– सुनिल अधिकारी
काठमाडौं–१५ स्वयम्भू
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: