मुक्तक भनेको कविताविधाको सबैभन्दा सानो आयामगत स्वरूपको पूर्ण कविता हो । यो पूर्वापर प्रसङ्गनिरपेक्ष रहेको हुन्छ । मुक्तकमा हृदयलाई चमत्कृत गर्ने क्षमता रहेको हुन्छ । मुक्तक कविता एकल आवृत्तिमा वर्तुलित ढाँचाबाट अभिव्यक्त भएको हुन्छ भने सङ्क्षिप्त आयामका कारण यसमा एकभन्दा बढी विचार वा भावले विस्तार हुने अवसर पाउँदैन । दुई श्लोकी कवितालाई संस्कृत काव्यशास्त्रीय परम्परामा युग्मक भनेर परिभाषित गरिएका सन्दर्भमा दुईदेखि सात चरणसम्मको आयामका कवितालाई मात्र मुक्तक भन्नु पर्ने देखिन्छ ।
यस प्रकार पूर्वापर सन्दर्भनिरपेक्ष रही दुईदेखि सात चरणसम्मको एक काव्यात्मक अनुच्छेदमा एकल आवृत्तिमय कलात्मक बान्कीको कुनै एक सानो कथ्य अर्थ, विचार वा भावको पूर्ण तथा हृदयस्पर्शी अभिव्यक्ति दिई रचिएको लघुतम कविता नै मुक्तक कविता हो भनेर भन्न सकिन्छ । कविताका अन्य स्वरूपगत भेदहरूमा जस्तै यसमा पनि निश्चित संरचक घटकहरू हुने गर्दछन् । ती हुन्— विषयवस्तु, संरचना, लय, भाषाशैली, बिम्बालङ्कार र प्रतीकप्रयोग ।
नेपाली मुक्तकको इतिहास नेपाली कविताका इतिहाससँग नै सहसम्बन्धित छ । नेपाली मुक्तकका लेखनपरम्पराको थालनी नेपाली कविताका प्राथमिक काल (१८३९–१९४०) मै भएको हो भने त्यस नेपाली कविताका माध्यमिक काल (१९४१–१९७४) हुँदै आधुनिक काल (१९७५ देखि हालसम्म) का वर्तमान विन्दुसम्म आइपुग्दा नेपाली मुक्तक निकै झ्याँगिएको छ । नेपाली कविताको प्राथमिक कालअन्तर्गत १८३९ सालमा लेखिएको मानिने तनहूँ–भकुण्डो (लेखक ः शक्तिबल्लभ अज्र्याल) शीर्षकका दुई श्लोक नै आजसम्म भेटिएका नेपाली मुक्तकका आदिरचना हुन् । प्राथमिककालीन नेपाली मुक्तकमा वीरधारा, भक्तिधारा र तात्क्षणिक घटना तथा कार्यको उत्प्रेरणा मूल रूपमा आएको पाइन्छ ।
यस कालमा रचिएका मुक्तकहरू लेखोटका रूपमा मात्र रहे र ती उत्तरवर्ती छापाखानाका युगमा क्रमशः प्रकाशनमा आए । प्राथमिक कालीन कवि भानुभक्त आचार्यले रचेका कविताहरू अद्यापि लोकप्रिय छन् र उनी नै त्यस कालका प्रतिनिधि मुक्तककार हुन् । प्राथमिक कालका तुलनामा माध्यमिक काल मुक्तकलेखनका दृष्टिले निकै उर्वर रहेको देखिन्छ । यस कालका केन्द्रीय मुक्तककारका रूपमा रहेका मोतीराम भट्टले मोतीमण्डलीको स्थापना गरी समस्यापूर्तिका रूपमा आफ्ना मित्रहरूसहित मुक्तकहरूको लेखन र प्रकाशन गरेका छन् । मुद्रण प्रविधिको उपयोग थालिएका कारण पनि माध्यमिककालीन मुक्तकहरू प्रकाशनमा आउन सकेका हुन् । यस कालमा नेपाली मुक्तकमा शृङ्गारधारा मूल प्रवृत्तिका रूपमा देखापरेको छ ।
- यसै कालमा हवाईपत्रमा मुक्तकहरू प्रकाशन गरेर पनि मुक्तकको विकास र संवद्र्धनका लागि अभियानहरू सञ्चालन गरेको देखिन्छ । पछिल्लो दशकमा मुक्तकमै केन्द्रित जनस्तरका संस्थाहरूको स्थापनाले पनि नेपाली मुक्तकको ढुकुटी समृद्ध हुँदै गएको पाइन्छ ।
नेपाली मुक्तकको विस्तृत विकास भने आधुनिक कालमा नै भएको देखिन्छ । विश्वव्यापी दृष्टिकोणको प्रभाव र विश्वका विभिन्न भाषामा लेखिएका साहित्यको अध्ययनले यस कालमा नेपाली मुक्तकमा विविध दर्शन र अन्तर्राष्ट्रिय मुक्तकीय शैलीको छाप पर्न गएको देखिन्छ । संस्कृत मुक्तकमा पाइने चतुष्पदी तथा द्विपदी शैलीबाट प्रभावित भई लेखनमा आएको नेपाली मुक्तक यस कालमा रुबाई, सायरी, हाइकु, ताङ्का, मुक्त गद्यमुक्तकजस्ता अनेक ढाँचामा रचिन पुगेको छ । विभिन्न साहित्यिक कार्यक्रमहरूमा चटनीजस्तै मुक्तकको प्रयोग गर्ने र त्यसबाट प्रभावकारिता उत्पन्न गर्ने चलन नै अचेलका साहित्यिक कार्यक्रमहरूको आकर्षण हुने गरेको देखिन्छ । जनचेतना उठाउने र विरोध–विद्रोहका निम्ति आयोजना गरिने कार्यक्रमहरूमा समेत छोटोछरितो हुनाका कारण मुक्तकको प्रयोग गर्ने आम प्रचलन पनि देखापरेको छ ।
मुक्तकको लोकप्रियताकै कारण टिकट काटेर सशुल्क मुक्तक सुनाउने कार्यक्रमहरू देशका ठाउँ–ठाउँमा बेलाबखत आयोजना हुनुले पनि यसको प्रभावकारिता बढी टड्कारिएको छ । असङ्ख्य पत्रपत्रिकाहरूको प्रकाशन र विद्युतीय सञ्चार माध्यमहरूको विकास हुनुले पनि नेपाली मुक्तकको विकासमा ठूलो टेवा पुगेको देखिन्छ । यसै कालमा हवाईपत्रमा मुक्तकहरू प्रकाशन गरेर पनि मुक्तकको विकास र संवद्र्धनका लागि अभियानहरू सञ्चालन गरेको देखिन्छ । पछिल्लो दशकमा मुक्तकमै केन्द्रित जनस्तरका संस्थाहरूको स्थापनाले पनि नेपाली मुक्तकको ढुकुटी समृद्ध हुँदै गएको पाइन्छ ।
आधुनिक कालमा आएर मुक्तकसङ्ग्रह प्रकाशनका चेष्टा पनि विशेष रूपमा हुन थालेको देखिन्छ । टेकबहादुर ‘नवीन’ले चोइटा नामको मुक्तकसङ्ग्रह २०१६ सालमा प्रकाशित गरेर सङ्ग्रह प्रकाशनको थालनी गरेदेखि यता करिब अढाई सयभन्दा बढी सङ्ख्यामा नेपाली मुक्तकका सङ्ग्रहहरू प्रकाशित भएका पाइन्छन् । शैलीगत दृष्टिले हेर्दा यी मुक्तकसङ्ग्रहहरू द्विपदी, त्रिपदी, चतुष्पदी, रुबाई, हाइकु, ताङ्का, कुण्डली, गद्य लय आदिका भिन्नाभिन्नै स्वरूपमा रचिई प्रकाशित भएका देखिन्छन् । यस कालमा कतिपय मुक्तकसङ्ग्रहहरूमा चित्रात्मकताको प्रयोग गरी मुक्तकीय प्रभावलाई अझै तिखार्ने प्रयास भएको देखिन्छ । प्रकाशनमा आएका यी मुक्तकसङ्ग्रहहरूका आकार–प्रकार पनि भिन्न–भिन्न ढाँचाका पाइन्छन् । यी मुक्तकसङ्ग्रहरू करिब डेढ इन्चदेखि दुई फुटसम्मको लम्बाइका आकारमा प्रकाशित भएका देखिन्छन् । नेपाली मुक्तकहरू पत्रपत्रिकामा फुटकर रूपमा तथा स्फुटकविताका सङ्ग्रहहरूमा खामेर प्रकाशित गर्ने प्रवृत्तिले गर्दा पनि नेपाली मुक्तकसङ्ग्रहहरूको सङ्ख्यात्मक न्यूनता रहेको भेटिन्छ ।
- यसै गरी नेपालको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्रशासनिक, शैक्षिक आदि विषयका समस्यामूलक तथ्यहरूको चित्रण पनि नेपाली मुक्तकहरूमा भएको पाइन्छ ।
हालका वर्षहरूमा नयाँनयाँ छिमलका मुक्तककारहरूमा मुक्तक प्रकाशन गर्ने होडबाजीले परिमाणात्मक प्राप्ति उल्लेख्य देखिए पनि गुणात्मक रूपमा भने तिनले फड्को मार्न नसकेको देखिन्छ । भीमदर्शन रोका, भूपी शेरचन, हरिभक्त कटुवाल, वैरागी काइँला आदिजस्ता मुक्तककारहरूले प्रस्तुत गरेको मुक्तकीय सौन्दर्य हालका मुक्तकमा त्यति कायम हुन नसकेको देखिन्छ तापनि नेपाली मुक्तकको संवद्र्धनका लागि देशका ठाउँठाउँमा मुक्तकमा मात्र केन्द्रित संस्थाहरू खोली यिनका माध्यमबाट मुक्तकका गोष्ठीहरू तथा प्रकाशन गर्ने काम गरी यसको विकासलाई गतिशीलता दिएको देखिन्छ ।
विषयवस्तुका दृष्टिले हेर्दा नेपाली मुक्तकमा प्रकृति÷विश्वब्रह्माण्डको चित्रणसम्बन्धी र मानवजीवनसम्बन्धी मुख्य दुई विषयहरूको चित्रण गरिएको पाइन्छ । प्रकृति÷विश्वब्रह्माण्डको चित्रणमा प्रकृतिको सौन्दर्य, यसप्रतिको प्रेम र पर्यावरणीय विनाशप्रतिको चिन्ता पाइन्छ भने मानवजीवनसित सम्बन्धित मुक्तकहरूमा राष्ट्र–राष्ट्रियताप्रतिको प्रेम र इतिहासको स्मरण, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा देखापरेको युद्धको भयावहता र शान्तिको कामनाजस्ता विषयहरूको चित्रण गरिएको देखिन्छ । यसै गरी नेपालको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्रशासनिक, शैक्षिक आदि विषयका समस्यामूलक तथ्यहरूको चित्रण पनि नेपाली मुक्तकहरूमा भएको पाइन्छ ।
मुक्तकीय विषयमा अभिव्यक्त विचारका दृष्टिले हेर्दा नेपाली मुक्तकमा मूलतः अध्यात्मवादी–आदर्शवादी, मानवतावादी, नीतिवादी, यथार्थवादी–प्रकृतवादी, विसङ्गतवादी–अस्तित्ववादी, प्रगतिवादी, नारीवादी आदि विश्वदृष्टिकोणको अभिव्यक्ति भएको पाइन्छ । त्यस्तै भावगत प्रवृत्तिका दृष्टिले हेर्दा नेपाली मुक्तकमा प्रेम–प्रणयपरक भाव, वीरता–पौरखमूलक भाव, आत्मिक शान्तिगत भाव, हास्यव्यङ्ग्यात्मक भाव, दुःख–करुणामूलक भाव, भय–आतङ्कबोधक भाव, अद्भुत भाव, बीभत्स–घृणासूचक भाव र आक्रोशजन्य आवेगमूलक भावको प्रयोग गरिएको देखिन्छ ।
- कविताका भाषामा हुने वाक्यात्मक पदक्रमका विचलनको लयगत र शैलीगत सौन्दर्यबाट नेपाली मुक्तक पनि ओतप्रोत नै छन् ।
शिल्पगत दृष्टिले हेर्दा नेपाली मुक्तकमा कविनिबद्ध उक्ति ढाँचाको प्रयोग भएको देखिन्छ । यी मुक्तकहरू दुईदेखि सात चरणसम्मको विस्तारमा फैलिएका पाइन्छन् । यिनको संरचनागत स्रोत मौलिक र आगन्तुक गरी दुई प्रकारको भेटिन्छ । नेपालीमा रचिएका आदर्श वा मानक मुक्तकमा पहिलो चरणले विषयको उठान गर्ने, दोस्रो र तेस्रो चरणले विषयको विस्तार गरी चौथो चरणले विषयलाई उत्कर्षमा पुर्याई शमन वा बैठान गर्ने गरेको देखिन्छ । छन्दयुक्त र छन्दमुक्त दुवै खाले लयका संरचनामा दुईदेखि सात चरणसम्मको आयाममा फैलिएका नेपाली मुक्तकहरू नेपाली लोकधारा, संस्कृत, फारसी, उर्दू, हिन्दी, जापानी र अङ्ग्रेजी स्रोतका ढाँचामा लेखिएका पाइन्छन् ।
यी मुक्तकमा वर्णको आवृत्तिजन्य सौन्दर्य, अक्षरगत शब्दसंरचनाको छाँटिलो र छरितो पन पाइन्छ । समासरहित पदको प्रयोग, स्रोतगत हिसाबले तद्भव शब्दको बाहुल्य र चल्तीका तत्सम तथा आगन्तुक शब्दको ठीकै प्रयोग भएकाले पनि नेपाली मुक्तकमा सुबोध्यता नै पाइन्छ । पदकोटिका दृष्टिले हेर्दा नामिक पद, क्रियापद तथा क्रियाविशेषण पदको बाहुल्य यी मुक्तकहरूमा रहेको देखिएबाट नेपाली मुक्तक भावात्मक तथा वर्णनात्मक गरी दुवै किसिमका शैलीमा रचिएको तथ्य दृष्टिगत हुन्छ । कविताका भाषामा हुने वाक्यात्मक पदक्रमका विचलनको लयगत र शैलीगत सौन्दर्यबाट नेपाली मुक्तक पनि ओतप्रोत नै छन् । त्यसै गरी विविध बिम्बालङ्कार र प्रतीकको प्रयोगले यी मुक्तकहरूमा कथित अर्थ चमत्कारपूर्ण एवं सौन्दर्यशील बन्न पुगेको छ ।
निष्कर्षमा भन्नुपर्दा नेपाली कविताका फुटकर कविता, खण्डकाव्य र महाकाव्यजस्तै एक प्रकारका रूपमा रहेको मुक्तक कविताको इतिहास पनि सवा दुई शताब्दी वर्षको आयु पूरा गरी समयसान्दर्भिक विविध विषय, भाव तथा विचारलाई व्यक्त गर्दै संरचना, शिल्प तथा शैलीका पुराना र नयाँ अनि मौलिक र आगन्तुक स्रोतका विविध ढङ्ग र ढाँचामा रचिँदै गतिशील रहेको छ र यसले पाठ्य तथा श्रव्य कविताका रूपमा प्रचुर लोकप्रियता पनि आर्जन गरेको छ । अर्काइभबाट
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: