मुक्तक – १
जति दिनु छ हण्डरहरू, सहन्छु अझ दे जिन्दगी
मुक्ति संघर्ष चल्दैन भने, जिन्दगी पनि के जिन्दगी
नमूना छुट्टै हुनुपर्छ, हृदय सबैको छुनुपर्छ
दुःखैमा हाँसी दुःख काट्न, दुःखैमा फुल्छ रे जिन्दगी ।
मुक्तक – २
मिडियाबाजीमा अगाडिका, कीर्तिमानी उछिन्दै छन्
उलट–पुलट बनाइकन, नचाहिने कुरो उधिन्दै छन्
असल कुरा पाखामा पार्दै, भाइरल कुरा आँखामा पार्दै
आजभोलिका युट्युबेहरू, पानीमा ढुङ्गा उसिन्दै छन् ।
मुक्तक – ३
होस हवास उडाउने, सम्चारहरू सुनिएको छ
कति जीवन कोरोनाको, सन्त्रासमा उनिएको छ
बचौं बचाऔं भन्नुपर्छ, अनुशासित बन्नुपर्छ
घरै नजरबन्दी छ ज्यान थुनिनुसम्म थुनिएको छ ।
- गोम बिक्रम
कल्लाबारी, पाल्पा
नेपाली पब्लिकको विशेष साहित्यिक प्रस्तुती: